धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा तयारी तीव्र पारिएको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ११९ मतदान स्थल र १६६ मतदान केन्द्र तोकिएको छ । जिल्लाभर तोकिएका मतदान स्थलमध्ये अधिकांश सामुदायिक विद्यालयमा रहेका छन् । कुल ११९ मतदान स्थलमध्ये १०५ स्थल सामुदायिक विद्यालयमा निर्धारण गरिएको छ । जुन करिब ८० प्रतिशत हुन आउँछ । ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्म विद्यालयलाई सहज पहुँच, पर्याप्त भौतिक संरचना र सुरक्षा दृष्टिकोणले मतदान स्थलका रूपमा प्राथमिकतामा राखिएको बताइएको छ ।
सात स्थानीय तह रहेको धनकुटामा सबैभन्दा बढी मतदान स्थल महालक्ष्मी नगरपालिकामा रहेको छ । महालक्ष्मी नगरपालिकाका २० वटा सामुदायिक विद्यालयमा मतदान स्थल तोकिएको छ । त्यस्तै चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा १९/१९ वटा मतदान स्थल रहेका छन् । पाख्रिवास नगरपालिकामा १४ वटा मतदान स्थल निर्धारण गरिएको छ भने सहिदभूमि गाउँपालिका, छथरजोरपाटी गाउँपालिका र धनकुटा नगरपालिकामा ११/११ वटा मतदान स्थल कायम गरिएको छ । विद्यालयबाहेक अन्य १४ मतदान स्थल सार्वजनिक तथा सरकारी संरचनामा राखिएको छ । जसअन्तर्गत ६ वटा सार्वजनिक स्थल, ४ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य चौकी तथा १/१ वटा सामुदायिक र सरकारी भवनमा मतदान हुने व्यवस्था गरिएको छ ।
जिल्लामा यसपटक कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । जसमध्ये ५८ हजार ९४२ महिला र ५९ हजार ४८३ पुरुष मतदाता छन् । नियमित मतदान केन्द्रबाहेक दुई वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिएका छन् ।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक सुरक्षाको प्रबन्ध, मतदाता शिक्षा कार्यक्रम तथा मतदान केन्द्र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । यस निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्