धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ ओख्रेमा ज्येष्ठ नागरिक होम केयर (वृद्धाश्रम) भवन निर्माण गरी औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। एलडीएससीको आर्थिक सहयोग तथा *स्वास्थ्य पोषण शिक्षा कृषि तथा अनुसन्धान विकास नेपाल (हर्ड नेपाल)*को प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवन बुधबार एक कार्यक्रमबीच साँगुरीगढी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।
भवन निर्माणमा सहयोग गर्ने दाता संस्था र प्राविधिक सहयोगी हर्ड नेपालले गाउँपालिका अध्यक्ष जितेन्द्र राईमार्फत औपचारिक रूपमा भवन गाउँपालिकालाई हस्तान्तरण गरेका हुन्।
भवनभित्र सुविधायुक्त दुई वटा कोठा रहेका छन्, जसमा एउटा महिला र अर्को पुरुष ज्येष्ठ नागरिकका लागि छुट्याइएको छ। साथै, महिला र पुरुषका लागि वेग्ला–वेग्लै शौचालयको व्यवस्था गरिएको छ।
भवन निर्माणका लागि दाताको तर्फबाट ४५ लाख ८१ हजार ४९४ रुपैयाँ तथा साँगुरीगढी गाउँपालिकाको तर्फबाट ३ लाख ५५ हजार रुपैयाँ लगानी गरिएको हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादवले जानकारी दिए।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले भवन निर्माणमा सहयोग गर्ने दाताप्रति आभार व्यक्त गर्दै ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सेवाका लागि यो भवन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे। सो अवसरमा गाउँपालिकाको तर्फबाट दातालाई कदरपत्र र मायाको चिनो प्रदान गर्दै सम्मानसमेत गरिएको थियो।
ज्येष्ठ नागरिक होम केयर भवन ज्येष्ठ नागरिकहरूको हेरचाह र सेवाका लागि प्रयोग गरिनेछ। साइरेनी चर्चमार्फत सञ्चालन हुने उक्त होम केयरलाई आगामी तीन वर्षसम्म हर्ड नेपालले आवश्यक सहयोग गर्ने जनाएको छ। सञ्चालनका लागि समुदायस्तरबाट पनि आर्थिक सहयोग जुट्न थालेको छ।
साइरेनी चर्चका पास्टर जीवन थापा मगरका अनुसार हालसम्म दाताबाट १ लाख १८ हजार ५ सय रुपैयाँ सहयोग संकलन भइसकेको छ। सहयोग गर्ने दातामध्ये करुणा मगर (ओख्रे)बाट १ लाख, कविता थापा (धरान)बाट ७ हजार, राज सुब्बा (डाँडाबजार)बाट ५ हजार, साइरेनी मण्डली आमा सङ्गति ओख्रेबाट ५ हजार तथा पास्टर युवराज राई (डाँडाबजार)बाट १ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए। कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्