धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा पत्रकारिता आचारसंहिता पालना गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ । शाखाले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएकाले यससँग सम्बन्धित समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रसारण कार्य जिम्मेवारीपूर्वक सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ । स्वतन्त्र, निष्पक्ष, तथ्यपरक र सन्तुलित पत्रकारिता लोकतन्त्रको आधार भएकाले निर्वाचनको क्रममा सञ्चारकर्मीहरूको भूमिका अझ महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ ।
विज्ञप्तिमा नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता तथा निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्दै जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरिएको छ । समाचार सम्प्रेषणका क्रममा सत्यतथ्यमा आधारित सामग्री मात्र प्रकाशन–प्रसारण गर्ने, अपुष्ट वा भ्रामक सूचना नफैलाउने, उम्मेदवार तथा राजनीतिक दलबीच समान व्यवहार गर्ने तथा निर्वाचनको निष्पक्ष वातावरण कायम राख्न सहयोग पुर्याउन विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
त्यसैगरी सामाजिक सञ्जाल लगायत डिजिटल माध्यम प्रयोग गर्दा पेशागत मर्यादा, नैतिकता र कानुनी दायित्वलाई ख्याल गर्न पनि सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई स्मरण गराइएको छ । निर्वाचनको स्वच्छ, पारदर्शी र विश्वसनीय वातावरण निर्माणमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहने भन्दै आचारसंहिताको अक्षरशः पालना गर्न आग्रह गरिएको महासंघले जनाएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवास र सचिव हरिबहादुर लम्जेलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत शाखामा आबद्ध सदस्यहरू, क्रियाशील पत्रकारहरू तथा स्थानीय सञ्चार माध्यमहरूलाई सार्वजनिक रूपमा अपिल गरिएको हो ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्