जीवनप्रसाद राई । धनकुटा
२०५६ सालदेखि सञ्चालनमा रहेको एलिसा मासु पसल धनकुटाको हिलेमा एउटा महत्वपूर्ण उद्यमशीलताको नमुना हो । स्थापनाको सुरुवाती काल निकै सकसपूर्ण रहे पनि हाल यस पसलको दैनिक कारोबार ८० देखि १०० किलोसम्म पुगेको छ । बोइलर कुखुराको मासु बिक्री हुने उत्कृष्ट स्थानका रूपमा यो पसल स्थापित भएको छ ।
हिले पर्यटकीय गन्तव्यको उदाउँदो सहर हो ।
यसलाई मध्यपहाडी लोकमार्गको एक अविस्मरणीय सहरका रूपमा पनि परिभाषित गर्न सकिन्छ । यति मात्र होइन, प्राकृतिक रूपमा पनि यो अनुपम बजार हो । यहाँबाट तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर र धनकुटाका धेरै स्थान घुम्न सकिन्छ । अर्थात् पर्यटकको आवागमन प्रशस्त हुने भएकाले यहाँ मासुको कारोबार पनि उच्च हुने गर्दछ । त्यसैले एलिसा मासु पसलको बिक्री अझै बढ्ने अनुमान गर्न सकिन्छ । यही परिवेशलाई अवसरका रूपमा उपयोग गर्दै एलिसा मासु पसलले आफ्नो व्यवसाय थप फराकिलो बनाउने लक्ष्य लिएको यसको सञ्चालक महेन्द्र तामाङ बताउँछन् ।
महेन्द्र तामाङ साँगुरीगढी गाउँपालिका–१, बुढीमोरङमा आमा सुकमाया तामाङ र बुवा पर्जामान तामाङको कोखबाट जन्मिएका हुन् । उनि राधिका श्रेष्ठ तामाङसँग वैवाहिक बन्धनमा बाँधिए । महेन्द्र र राधिकाको परिवारमा एक छोरा र एक छोरी छन् । २०५६ सालमा घरबाट केही लत्ताकपडा र केही महिनासम्म पुग्ने कोठाभाडा मात्र बोकेर हिले आएका हुन् । गाउँमा भोगेको दुःखले नै अघि बढ्ने प्रेरणा दिएको उनी बताउँछन् । हिलेमा स्थायी रूपमा बसोबास गरेको २७ वर्ष भइसकेको छ । आज बोइलर कुखुराको मासु व्यवसायमा एक स्थापित ब्रान्ड र व्यक्तित्व वनेका छन् ।
यस अवधिमा महेन्द्रले १० वर्ष वैदेशिक रोजगारीको अनुभव पनि बटुलेका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियाका विभिन्न स्थानमा घुम्ने अवसर पनि पाए । विदेशको अनुभवपछि नेपालमै दिगो रूपमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा उनले सूक्ष्म अध्ययन गर्न थाले यही क्रममा परिवारले निरन्तरता दिइरहेको बोइलर मासु पसललाई अझ व्यवस्थित र फराकिलो ढंगले सञ्चालन गर्ने सोच
बन्यो । यही सोच महेन्द्रका लागि ठूलो वरदान सावित भयो ।
उनले हिलेका ठूला उपभोक्तालाई मासु डेलिभरी गर्ने गरी बजार विस्तारमा समेत ध्यान दिए । यसले गर्दा दैनिक बिक्री मात्रा बढ्दै गयो र उनले कोरेको सपना साकार हुँदै गयो । अहिले पछाडि फर्केर हेर्न नपर्ने अवस्थामा पुगेका छन् । अझ अघि बढ्नका लागि नयाँ उपायहरूको खोजीमा रहेका छन् । लगानीका स्रोत जुटाइसकेका तामाङ हाल बोइलर कुखुराको मासु व्यवसायमा केही मन्दी रहेको बताउँछन् । तर यो मन्दी दीर्घकालीन नहुने उनको ठम्याइ छ । कोरोनाकालदेखि सुरु भएको यो मन्दीले लामो समय बिताइसकेको छ । सात वर्षसम्म मन्दी रहनु कुनै पनि व्यवसायका लागि ठूलो चुनौती हो । यद्यपि यस अवधिमा पनि उनले व्यवसाय प्रगतिमै रहेकाले आगामी योजनाहरू तयार गर्ने क्रममा छन् ।
उनका आगामी योजना र देशमा सम्भावना नदेख्नेहरूका लागि सुझाव
हाल उनको पहिलो प्राथमिकता छोराछोरीलाई उच्च शिक्षा प्रदान गर्नु हो । छोरीले स्नातक पूरा गरेकी छिन् । छोरा उच्च शिक्षाको चरणमा प्रवेश गर्दैछन् । उनीहरूलाई राम्रो शिक्षा दिने प्रतिबद्धता उनको छ । बोइलर कुखुराको मासु बजारमा स्थापित भइसकेकाले यही क्षेत्रलाई थप विस्तार गर्ने उनको योजना छ । साथै पर्यटन वा अन्य कुनै नयाँ व्यवसाय सुरु गर्ने इच्छा पनि उनको रहेको छ । यस विषयमा उनले केही विज्ञहरूसँग छलफलसमेत गरिसकेका छन् । यो पहल मुख्यतः रोजगारी सिर्जनाका उद्देश्यले गर्न लागिएको व्यवसाय हुने उनी बताउँछन् ।
घरबाट केही नलिई निस्किएको मान्छे आज हिले जस्तो स्थानमा घर–घडेरी जोड्नुका साथै अन्य व्यवसायमा समेत लगानी गर्न सक्ने अवस्थामा पुगेका छन् । हिलेमा सामाजिक क्षेत्रमा पनि महेन्द्रले उल्लेखनीय योगदान दिएका छन् । साथीभाइ, नातागोता, इष्टमित्र र आफन्तजन धेरै कमाएको भन्दै गर्वका साथ कुरा गर्छन् । उनको सुझाव छ—नेपालमै गरिएको व्यवसायलाई निरन्तरता दिँदै त्यसैमा नयाँ सम्भावना सिर्जना गर्न सक्नुपर्छ । विदेशमा अत्यधिक श्रम गर्नुपर्छ तर सो अनुसारको कमाइ नहुने अनुभव उनीसँग छ । सही तरिका अपनाउन सके नेपालमै राम्रो गर्न सकिन्छ । युवाहरूले अब विदेशमा होइन, स्वदेशमै सपना देख्न सक्नुपर्छ । त्यसका लागि आफूसँग भएका अनुभव र परामर्श दिन उनी सधैं तयार छन् ।
उनीबाट लिनुपर्ने शिक्षा
२७ वर्षसम्म एउटै पेशामा टिक्न सके नेपालमा पर्याप्त कमाइ गर्न समस्या हुँदैन । तर २७ वर्षमा २७ प्रकारका काम गर्दा सफलता सम्भव हुँदैन । भनिन्छ—एकै ठाउँमा एक मिटर खन्दा पानी निस्कन्छ, तर सय ठाउँमा एक–एक मिटर खन्दा पानी आउँदैन । स्थिर सोच, आफूले गरेको कामको बजार अध्ययन र विस्तार, कामको निरन्तरता तथा सेवामा समर्पण रह्यो भने नेपालमै सजिलै टिक्न सकिन्छ भन्ने शिक्षा महेन्द्रबाट लिन सकिन्छ ।
मेहनतका सन्दर्भमा उनि बिहान ४ बजेदेखि बेलुका ९ बजेसम्म आफ्नो काममा तल्लीन रहन्छन् । आफ्नै परिवारद्वारा २७ वर्षसम्म सञ्चालनमा रहँदै व्यवसायलाई निरन्तरता दिनु नै सबैभन्दा ठूलो गहना हो । हिलेलाई व्यवसायिक बनाउने क्रममा महेन्द्र तामाङले दिएका योगदान सदा–सदा सम्झनामा रहनेछ ।
नोट : लेखक राई कृषि पर्यटन अभियानकर्ताका रूपमा परिचित छन् । उनी कृषि पर्यटन अभियान लिएर ८ वर्ष लगाई देशका सबै जिल्ला र नगरपालिका पुग्ने पहिलो नेपाली हुन् । स्नातकोत्तरसम्मको औपचारिक शिक्षा प्राप्त राई कृषि, पर्यटन, शिक्षा, अर्थतन्त्र र ग्रामीण विकासमा रुचि राख्छन् । उनका २३ पुस्तक प्रकाशित छन् र धनकुटा हिलेलाई कर्मक्षेत्र बनाएका छन् ।-सम्पादक



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्