धनकुटा । कुनै समय देशैभरि सुन्तला उत्पादनको पहिचान बनाएको सहिदभूमि गाउँपालिका वडा नं. ४ खोकुमा पछिल्ला वर्षहरूमा देखिएको रोगका कारण किसानहरू चिन्तित थिए । सुन्तलाको बोट एक्कासी सुक्ने, मर्ने र उत्पादन क्रमशः घट्दै जान थालेपछि खोकुको सुन्तला इतिहासमै सीमित हुने हो कि भन्ने चिन्ता बढ्दै गएको थियो ।
यही समस्याको समाधानका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ तेह्रथुमको प्राविधिक टोली स्थलगत रूपमा बुधवार खोकु पुगेको छ । टोलीले सुन्तलामा देखिएको रोग र समस्या पहिचान गर्न सर्वेक्षण गरेको छ ।
किसानले आफैंबाट मात्र समाधान सम्भव नहुने देखेपछि सहयोगको अपेक्षासहित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, जोन प्राविधिक एकाइ धनकुटामा पुगेका थिए । किसानकै माग अनुसार सुन्तलाको देखिएको रोग र समस्या पहिचान गर्न सर्वेक्षण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ तेह्रथुमका निमित्त वरिष्ठ कृषि अधिकृत राजीवकुमार पाख्रीनले बताए । उनका अनुसार सुन्तला जोन क्षेत्र घोषणा भएपछि यहाँ सुन्तलाको क्षेत्र विस्तार, रोग–कीरा व्यवस्थापन, सिँचाइ पूर्वाधार सहयोग, तालिम तथा बगैँचा व्यवस्थापनजस्ता कार्यक्रम ल्याइएको छ । “यी कार्यक्रमले खोकुको पुरानो साख जोगिन्छ भन्ने आशा किसानमा पलाएको छ,” उनले भने ।
खोकु मात्र नभई छिन्ताङ र आँखिसल्ला पनि सुन्तला उत्पादनका जोन क्षेत्र हुन् । सहिदभूमी गाउँपालिकाको खोकुमा मात्रै करिव ७५० घरधुरीबाट ८०० हेक्टर बढि क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जोन कार्यालयले सहिदभूमि गाउँपालिका वडा नं ३ र साँगुरीगढी गाउँपालिकाको वडा नं. २ र ३ मा पनि कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।
खोकुमा सय वर्षभन्दा बढी उमेरका सुन्तलाका बोट अझै भेटिन्छन् । विशेष गरी खोकुमा उत्पादन हुने ‘खोकु जात’को सुन्तला गुलियो र स्वादिलो मानिन्छ । जिल्लाको कृषि पहिचानसँग जोडिएको यही सुन्तला रोग प्रकोपका कारण मासिँदै गएको थियो । अब सरकारी पहलसँगै खोकुको सुन्तला फेरि पहिलेकै गौरव फर्काउने आशा पलाएको छ ।






हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्