images
images
images

चिया क्षेत्रमा हिलेको हिरा-जंगबहादुर तामाङ

images

जीवनप्रसाद राई । धनकुटा 

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार आयोजना हिलेले २०५४ सालपछि चिया खेती विस्तार कार्यक्रम तीव्र रूपमा सञ्चालन गरिरहेको थियो । यही बेला धनकुटा वडा नम्बर १, हिलेका जंगबहादुर तामाङ पनि त्यो बृहत् चिया विस्तार कार्यक्रममा सहभागी हुन
पुगे । उनीसँग त्यस समयमा प्रशस्त मात्रामा बाँझो जमिन थियो । यही अवसरको सदुपयोग जंगबहादुर तामाङले गरे । २०५५ सालबाट चिया रोप्न सुरु गरेका उनले २०६६ सालसम्म रोपाइँमा निरन्तरता दिए । २५ रोपनीमा चिया रोपेका उनी अन्य ठाउँ, जिल्ला र समूहमा निरन्तर रूपमा चिया रोपाउने कार्यमा सक्रिय रहे । धनकुटा जिल्ला नेपालमा धेरै चिया रोपाइँ भएको चौथो जिल्ला हुनुमा उनको पनि महत्वपूर्ण योगदान रहेको छ ।

images
images

बुवा सुवेदार वीरबहादुर तामाङ र आमा फुलमाया तामाङबाट २०१५ सालमा धनकुटा–१, हिलेमा जन्मिएका उनले मनमाया तामाङसँग वैवाहिक बन्धन बाँधेका थिए । उनीहरूका ४ छोरा र १ छोरी गरी ५ सन्तान छन् । सबै सन्तान वैवाहिक बन्धनमा बाँधिएका छन् र आ–आफ्नै पेशामा रमाइरहेका छन् । जंगबहादुर र उनकी श्रीमती सन्तान तथा नातिनातिनाका धनी पनि हुन् । यही जनशक्तिको उपयोग गर्दै हिलेमा चियाको विस्तार गरी सरकारले अघि बढाएको कार्यक्रमलाई भरपूर सहयोग गरे । अहिले जंगबहादुर दम्पती उहिले रोपिएको चियालाई वर्षेनी काँटछाँट र मलजल गर्दै चियासँगै मुस्कुराइरहेका छन् । हाल वार्षिक रूपमा दुई लाख रुपैयाँभन्दा बढीको चिया बिक्री गर्दै चियाबाट बहुमुखी आम्दानी कसरी गर्न सकिन्छ भन्ने अवसरको खोजीमा छन् ।

चियाखेतीमा आउने प्रेरणा र सपना

धनकुटामा नेपाल सरकारले चिया विस्तार योजना ल्याउनेबित्तिकै तत्कालीन राष्ट्रिय चिया विकास बोर्ड (हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्ड), चिया विस्तार आयोजना हिले शाखाले आफूलाई चिया लगाउने प्रेरणा दिएको जंगबहादुर बताउँछन् । यसका साथै उनले चियामा अन्य खेतीभन्दा फरक सम्भावना देखे । आर्थिक वृद्धि र विकासका लागि बहुवर्षीय बाली तथा एकपटक रोपेपछि पुस्तौँसम्म फाइदा दिने खेती चियाबाहेक अरू नभएको निष्कर्षमा पुगे । यही सपना नै चिया खेतीमा प्रवेश गर्ने ढोका बन्यो ।

उनले चियाले भूक्षय रोक्ने, वातावरण सफा बनाउने र सुन्दरता थप्ने भएकाले पर्यटन क्षेत्रको समेत विकास गर्न सकिने सम्भावना देखेको बताए । इलामको उदाहरण दिँदै त्यहाँ चियापत्ती, हरियाली र मनोरम दृश्य बेचेर वार्षिक अर्बौँ रुपैयाँ आम्दानी भइरहेको उल्लेख गरे । त्यो अवस्था धनकुटामा पनि सम्भव रहेको र त्यसका लागि टुक्राटुक्रामा रहेका चियाबगानलाई जोड्दै लैजानुपर्ने उनको सुझाव छ । चिया वातावरण सफा गर्ने मात्र नभई मानव तथा पशुपक्षीले फेर्ने हावालाई पनि स्वच्छ बनाउने महत्वपूर्ण वनस्पति भएको उनी बताउँछन् ।

हिले तथा धनकुटा क्षेत्रलाई चियामय बनाउन सकिने र यसबाट ठूलो मात्रामा रोजगारी सिर्जना हुन सक्ने विश्वासका साथ आफू चियाखेतीमा होमिएको उनी गर्वका साथ बताउँछन् । चियाले कलेजका विद्यार्थीलाई समेत रोजगारी दिन सक्ने उनको बुझाइ छ । चियालाई बहुमुखी आम्दानीको स्रोतका रूपमा विकास गर्न सकिए बाहिरबाट पढ्न आउने विद्यार्थीले घरबाट खर्च ल्याउन नपर्ने सान्दर्भिक धारणा उनले व्यक्त गरे ।

कामले नै असल चिया प्राविधिक

जंगबहादुर तामाङ चिया क्षेत्रमा प्रवेश गरेको २७ वर्ष पूरा भइसकेको छ । चियाको रोपाइँ र प्रशोधनसम्बन्धी सम्पूर्ण प्राविधिक पक्षमा पोख्त उनी धनकुटा जिल्लाका थोरै दक्ष जनशक्तिमध्ये एक हुन् । चियामा वर्षेनी काँटछाँट गर्नुपर्ने र सानो वा ठूलो जुनसुकै क्षेत्र भए पनि पाँच भागमा विभाजन गरेर काम गर्दा आम्दानी कायम राख्न र व्यवस्थापन सहज हुने अनुभव उनले साझा गर्छन् ।

नर्सरी व्यवस्थापन, उपयुक्त बिरुवाको छनोट, नर्सरी गर्ने समय, माटोको गुण, रोपाइँ समय, माटो परीक्षण, उचाइअनुसारका जात, चिया टिप्ने समय र गुणस्तर कायम राख्ने विषयमा उनी अत्यन्त जानकार छन् । चिया टिपेपछि हुने प्रशोधन प्रक्रिया र गुणस्तर सुधारका विषयमा पनि उनी दक्ष प्राविधिक हुन् ।

चिया रोपाइँकै क्रममा उनी चितवनको काउले क्षेत्रमा भएको चिया विस्तारमा प्राविधिक रूपमा सहभागी भएका थिए । धनकुटाका विभिन्न स्थानमा चिया रोपाइँ तथा काँटछाँटमा उनी निरन्तर संलग्न रहँदै आएका छन् । हाल उनको बारीमा टिष्टा भ्याली–१, तगडा–७८, त्रिअसी, बेनुकवन, एभि–२ र तिनाली गरी ६ जातका चिया छन् । तराई क्षेत्रमा क्याम्बोडियन र पहाडी क्षेत्रमा चिनियाँ जातका चिया उपयुक्त हुने उनको सुझाव छ । नेपाली हावापानी सुहाउँदा जात मात्र रोप्नुपर्नेमा उनी जोड दिन्छन् ।

एक महत्वपूर्ण अवसरको प्रतीक्षामा

बहुमुखी आम्दानीको सपना बोकेर चिया रोपेका जंगबहादुर धनकुटाले इलामजस्तै सफलता हासिल गर्न नसकेकोमा चिन्ता व्यक्त
गर्छन् । उनका अनुसार टुक्राटुक्रामा रहेका चियाबगानलाई जोडेर ठूलो क्षेत्र बनाउनु, स्थानीय सरकारले चियालाई प्राथमिकतामा राख्नु र नागरिकलाई चियामा भविष्य देखाउन सक्नु आवश्यक छ । बाँझो जमिनको समस्या समाधानका लागि चिया प्रमुख बाली बन्न सक्ने उनको धारणा छ । चियामा बजारको समस्या नरहेको उनी बताउँछन् ।

२७ वर्षदेखि चियापत्ती बिक्री गर्दै वार्षिक दुई लाख रुपैयाँ आम्दानीमा सन्तुष्ट भए पनि अब चिया पर्यटन, आधुनिक प्रशोधन र उच्च मूल्यका चिया उत्पादनतर्फ लाग्नुपर्ने उनको विचार छ । चिया पर्यटन विकास भए चिया किसान, मजदुर र प्रशोधनकर्ता मात्र नभई होटल, खाजाघर, पसललगायत अन्य व्यवसायीलाई समेत ठूलो फाइदा पुग्ने उनी बताउँछन् । चिया क्षेत्रका “हिलेका हिरा”लाई चिनेर काम गर्न स्थानीय सरकार र सरोकारवालाको ध्यान जानुपर्ने उनको अपेक्षा छ ।

नोट: लेखक राई विगत ३५ वर्षदेखि नेपालमै कृषि पर्यटन अभियानमा संलग्न व्यक्ति हुनुहुन्छ । ८ वर्ष लगाएर नेपालको सबै जिल्ला र नगरपालिका पुग्नु भएका उहाँ कृषि पर्यटन अभियान लिएर देशाटन गर्ने पहिलो नेपाली हुनुहुन्छ । २३ पुस्तकका स्रष्टा उहाँले हाल धनकुटा हिलेलाई कर्मथलो बनाउनुभएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्