images
images
images

आठपहरिया समुदाय लक्षित पानी तथा वातावरण संरक्षण परियोजना सुरु

images

धनकुटा । धनकुटा नगरपालिकामा बसोबास गर्ने आठपहरिया समुदायलाई लक्षित गरी पानी सुरक्षा, वातावरण संरक्षण तथा दिगो जीविकोपार्जन प्रवर्द्धनका कार्यक्रम सुरु गरिएको छ । यसअन्तर्गत धनकुटा नगरपालिका–८ खाम्बेलामा पोखरी निर्माण कार्य सुरु गरिएको छ । पानी सुरक्षा, वातावरणीय संरक्षण तथा जीविकोपार्जन सुदृढीकरण गर्ने उद्देश्यसहित परियोजना सञ्चालन गरिएको परियोजना संयोजक डा. नवीन भट्टराईले जानकारी दिए । उनका अनुसार परियोजनाको कुल बजेट ४६ हजार अमेरिकी डलर रहेको छ, जसको कम्तीमा ८० प्रतिशत रकम प्रत्यक्ष रूपमा समुदायस्तरका भौतिक तथा विकास गतिविधिमा खर्च गरिनेछ ।

परियोजनाअन्तर्गत पानीका मुहान पुनर्जीवनका लागि रिचार्ज संरचना निर्माण, सिँचाइ प्रयोजनका लागि माटो–सिमेन्ट पोखरी निर्माण तथा माछापालनका लागि पोखरी निर्माण गरिनेछ । यसैगरी फलफूल उत्पादनमार्फत कृषि–पर्यटन प्रवर्द्धन, सामुदायिक वन उपभोक्ता समूह सञ्चालन योजना नवीकरण, फलफूलका बिरुवा रोपण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

images
images

परियोजना ११ महिनासम्म सञ्चालन हुने र अक्टोबर २०२६ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस अवधिमा समुदायको प्रत्यक्ष सहभागितामा प्राकृतिक स्रोत संरक्षण, वातावरणीय पुनःस्थापना तथा आम्दानीका वैकल्पिक स्रोत प्रवर्द्धनमा केन्द्रित गतिविधि सञ्चालन गरिनेछ । स्थानीय तहमा परियोजनाको कार्यान्वयन हुसाडेक नेपालले गर्नेछ ।

यो परियोजना ग्लोबल इन्भाइरोन्मेन्ट फ्यासिलिटी (GEF) को स्मल ग्रान्ट्स प्रोग्राम अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) साझेदारीमा सञ्चालन भइरहेको हो भने संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयमार्फत कार्यान्वयन भइरहेको छ ।

परियोजनाले धनकुटा नगरपालिकामा पानी अभाव न्यूनीकरण, दिगो कृषि प्रणाली प्रवर्द्धन, आदिवासी समुदायको जीविकोपार्जन सुदृढीकरण तथा वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । सरोकारवाला निकायबीच समन्वय र स्थानीय स्वामित्व सुनिश्चित गर्दै परियोजना सफलतापूर्वक कार्यान्वयन गरिने जनाइएको छ ।

धनकुटा नगरप्रमुख चिन्तन तामाङले स्थानीय आवश्यकता र प्राथमिकतामा आधारित यस्ता कार्यक्रमले दीर्घकालीन विकासमा टेवा पुर्‍याउने बताउँदै नगरपालिकाले आवश्यक सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्