धनकुटा । धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा सञ्चालन भइरहेको जिम्मेवारीपूर्ण पर्यटन प्रवर्द्धनसम्बन्धी परियोजना अन्तर्गत धनकुटा नगरपालिका–८ मा निर्माण गरिएको आकाशेपानी संकलन, संरक्षण तथा उपभोग क्षेत्रको अवलोकन तथा खाम्बेला आठपहरिया सामुदायिक होमस्टे सेवा प्रारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
खाम्बेलामा आयोजित कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अष्ट्रेलियन एम्बेसीका विकास प्रमुख डिलन जोन्स-विर्मा , जल–शासन विज्ञ डा. सागर प्रसाई, कार्यक्रम व्यवस्थापक सजिला बैध, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका डा. शाश्वत सन्याल, डा. अनुकुमारी लामा, शैलेन्द शाक्य तथा वुयासी राजभण्डारी सहभागी थिए ।
त्यस्तै धनकुटा नगरपालिका–८ का वडाध्यक्ष रसबहादुर राई, धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारी, तथा हुसाडेक नेपाल का अध्यक्ष सरोज भुजेल, सचिव खेम थापा लामिछाने, परियोजना अफिसर दिवश दाहाल, लेखा अफिसर शशिकला राई, लगायत स्थानीय सरोकारवाला र समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमका क्रममा निर्माण गरिएको आकाशेपानी संकलन तथा संरक्षण संरचनाको स्थलगत अवलोकन गरिएको थियो । उक्त संरचनाले वर्षात्को पानी संकलन गरी संरक्षण तथा उपयोगमार्फत पानी व्यवस्थापन, वातावरणीय संरक्षण र स्थानीय बस्तीमा दिगो स्रोतको प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले स्थानीय प्राकृतिक स्रोतको संरक्षणसँगै पर्यटनमार्फत आयआर्जनका सम्भावना विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ ।
यसै अवसरमा खाम्बेला आठपहरिया सामुदायिक होमस्टे औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । हाल पाँच घर आवद्ध रहेको होमस्टेमा प्रत्येक घरमा दुई–दुई कोठा छुट्याइएको छ । एक पटकमा १० जना पाहुनालाई आवासको व्यवस्था गर्न सकिने तथा समूहगत आगमन हुँदा १५ जनासम्म एक रात बस्न सकिने क्षमता रहेको होमस्टेका अध्यक्ष विनिता राईले जानकारी दिइन् ।
उनका अनुसार होमस्टेमा बस्ने पाहुनाले स्थानीय आठपहरिया समुदायका परम्परागत परिकारको स्वाद लिनुका साथै उनीहरूको जीवनशैली, संस्कृति, भेषभूषा र रहनसहन नजिकबाट अनुभव गर्न सक्नेछन् । यसले समुदायको आयआर्जन बढाउनुका साथै स्थानीय संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय स्तरमा जिम्मेवारीपूर्ण पर्यटनको अवधारणा कार्यान्वयन गर्दै प्राकृतिक स्रोतको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन र समुदायमा आधारित आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित परियोजना सञ्चालन गरिएको जनाइएको छ ।




हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्