images
images
images

धनकुटामा नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक, बृहत् नगरदेखि पर्यटन र गाँजा वैधानिकीकरणसम्मका संकल्प

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषणा पत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेस निर्वाचन मूल प्रचारप्रसार समिति धनकुटाले धनकुटास्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा पत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उम्मेदवार दिनेश राईले धनकुटा–हिले–उत्तरपानी–पाख्रीबास–सिधुवा क्षेत्रलाई समेटेर बृहत् नगर निर्माण गर्ने मुख्य संकल्प प्रस्तुत गरिएको जानकारी दिए । उनले हरेक निर्वाचनमा एउटै प्रतिबद्धता दोहोर्‍याएर मत माग्ने परम्परा अब अन्त्य हुनुपर्ने उल्लेख गर्दै यसपटकको घोषणा पत्रलाई धनकुटा विकासको स्पष्ट खाकाका रूपमा लिनुपर्ने धारणा राखे ।

images
images

घोषणा पत्रमा धनकुटा–हिले–पाख्रीबास–उत्तरपानी–सिधुवा क्षेत्र समेटेर बृहत् नगर निर्माण, पर्यटन प्रवर्द्धनका लागि ‘हिमालघर’ निर्माण, कोशी राजमार्गको २५ मिटर मापदण्ड पुनरावलोकन, एक पालिका–एक रंगशाला अवधारणा कार्यान्वयन, बाँदर तथा जंगली जनावर नियन्त्रण, गाँजा खेती वैधानिकीकरणका लागि पहल, ‘कोखदेखि शोकसम्म सेवा’ सुनिश्चित गर्ने कार्यक्रम समावेश गरिएको छ।

त्यसैगरी आठपहरिया जातिको सूचीकरण पहल, धनकुटामा लगानी भित्र्याउने योजना, व्यवस्थित सहर र उर्वर गाउँ अभियान, धरान–लेउती सुरुङ मार्ग निर्माण तथा राजरानी खेलमैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्ने लक्ष्य पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।

उम्मेदवार राईका अनुसार कृषि उत्पादनको मूल्य किसानअनुकूल बनाइने, बजार पहुँच विस्तार गरिने तथा उत्पादनमैत्री नीति ल्याइनेछ। धनकुटाको समग्र विकासका लागि पर्यटनलाई मुख्य आधार मानेर अघि बढ्ने र प्राविधिक शिक्षामा विशेष जोड दिइने उनले बताए । धनकुटालाई शिक्षा, स्वास्थ्य र पर्यटनको ‘हब’का रूपमा विकास गर्ने लक्ष्यसहित योजना अघि सारिएको उल्लेख गर्दै उनले पूर्वी पहाडको मुख्य भागमा अवस्थित धनकुटा सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले यसको प्रभावकारी सदुपयोग आवश्यक रहेको बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्