सुखकला राई
धनकुटा l वरिष्ठ गायिका मेनुका राईको नयाँ गीत “आउँछु आउँछु भन्दै मलाई ढाँटेरै पो गयौ” बोलको गीत हालै सार्वजनिक भएको छ । ग्रेस चाम हार्ट च्यारिटी फाउन्डेसन यूकेद्वारा आयोजित कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार एवं प्राज्ञ शान्तिराम राईले गीतको अडियो प्ले गर्दै औपचारिक रूपमा विमोचन गरेका हुन् । गीत सार्वजनिक गर्दै प्राज्ञ राईले गायिका मेनुका राईको सुमधुर स्वरले गीतलाई पूर्ण न्याय गरेको उल्लेख गर्दै भविष्यमा उनले संगीत क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
वरिष्ठ गायक तथा संगीतकार शिवसंगम राईको संगीत रहेको उक्त गीतका शब्द गीतकार कुमार केरुङ ‘रायन किङ’ले लेखेका हुन् । गीतकारका अनुसार गहिरो प्रेम सम्बन्धमा आएको विछोड र पीडाबाट प्रेरित भएर गीतका मार्मिक शब्द सिर्जना गरिएको हो । कार्यक्रममा समाजसेवी तथा गीतकार चन्द्र जयपाल राईले गीतको समीक्षा गर्दै प्रेम र परदेशिनुको बाध्यताबीचको भावनात्मक द्वन्द्वलाई गीतले यथार्थ रूपमा प्रस्तुत गरेको बताए ।
सो अवसरमा वरिष्ठ गायक तथा संगीतकार प्रदीप देवान, वरिष्ठ गायिका पार्वती राई तथा गायिका मेनुका राईले सांगीतिक प्रस्तुति दिएका थिए। साथै नवप्रतिभा गायिका कला इशारा राई लगायत कलाकारहरूको समेत आकर्षक प्रस्तुति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै ग्रेस चाम हार्ट च्यारिटी फाउन्डेसनका संस्थापक तथा सीईओ ग्रेस चाम्लिङले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिइन् । कार्यक्रममा अतिथिहरूलाई फाउन्डेसनका सदस्य तथा गायिका मेनुका राईले शब्दगुच्छाले स्वागत गरेकी थिइन् भने कलाकार बबिता राईले नृत्यमार्फत स्वागत प्रस्तुति दिएकी थिइन् । गीतको संगीत संयोजन (एरेन्ज) सुन्दर लामाले गरेका हुन् भने रेकर्डिङ टिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो। गीतको मिक्सिङ तथा मास्टरिङ पनि उत्कृष्ट रहेको बताइएको छ। हाल अडियो स्वरूपमा सार्वजनिक गरिएको उक्त गीतको भिडियो निर्माणको तयारी भइरहेको गीतकार कुमार केरुङले जानकारी दिए। गीत मेनुका राईको आधिकारिक युट्युब च्यानलमार्फत सुन्न सकिनेछ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्