images
images
images

निर्माण व्यवसायीलाई ठेकेदारका रूपमा मात्र होइन, विकासका साझेदारका रूपमा बुझ्नुपर्छ

images

नेपाल निर्माण व्यवसायी संघ धनकुटाका नवनिर्वाचित अध्यक्ष ओमबहादुर वस्नेत (रमेश) सँग गरिएको कुराकानीमा उहाँले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानी, बजेट अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि तथा आपूर्ति, ठेक्का व्यवस्थापन लगायतका समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गर्ने बताउनुभएको छ। साथै उहाँले संघलाई मर्यादित, प्रविधिमैत्री र समृद्ध संस्थाका रूपमा स्थापित गर्दै निर्माण व्यवसायीको हकहित, क्षमता अभिवृद्धि र व्यावसायिक सुरक्षामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रस्तुत छ, उहाँसँग पत्रकार हरिबहादुर लम्जेलले गर्नु भएको कुराकानीको सम्पादित अंश :

प्रश्न : नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । यहाँलाई सर्वप्रथम बधाई छ । नयाँ कार्यकालमा तपाईंका प्रमुख प्राथमिकता र योजनाहरू के–के छन्  ?

images
images

उत्तर : धन्यवाद। निर्वाचन प्रक्रियाबाट अध्यक्षमा निर्वाचित हुनु मेरा लागि खुसीको क्षणभन्दा पनि थप जिम्मेवारीको अनुभूति हो। नयाँ कार्यकालमा केही नयाँ र रचनात्मक काम गर्ने सोच बनाएको छु । अहिले निर्माण व्यवसायीका मुख्य समस्यामध्ये भुक्तानी तथा ठेक्का व्यवस्थापन प्रमुख छन्। त्यसैले रोकिएका निर्माण कार्यका भुक्तानी समयमै निकासा गराउन पहल गर्ने, म्याद थप तथा ठेक्का व्यवस्थापनसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक पहल गर्ने मेरो प्रतिबद्धता छ।  त्यसैगरी स्थानीय निर्माण व्यवसायीको हकहित, क्षमता अभिवृद्धि र व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राख्नेछु। धनकुटा जिल्लाभित्र सञ्चालन भइरहेका विकास निर्माणका परियोजनालाई पारदर्शी, गुणस्तरीय र तोकिएको समयमा सम्पन्न गराउन सम्बन्धित निकायसँग समन्वय गर्नेछु।  स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग सहकार्य गर्दै निर्माण क्षेत्रका नीतिगत जटिलता समाधान गर्न पहल गर्ने र संघलाई सुदृढ बनाउन सबै सदस्यलाई एकजुट गर्दै व्यावसायिक मर्यादा तथा अनुशासन कायम गर्नु मेरो मुख्य लक्ष्य हो।

प्रश्न : धनकुटाका निर्माण व्यवसायीहरूले अहिले भोगिरहेका प्रमुख समस्या तथा चुनौतीहरू के हुन् ? ती समस्या समाधानका लागि तपाईंको पहल कस्तो हुनेछ ?

उत्तर : अहिले निर्माण व्यवसायीले भोगिरहेको प्रमुख समस्या समयमै भुक्तानी नहुनु र बजेट अभाव हुनु हो। निर्माण सम्पन्न भइसकेका वा निर्माणाधीन आयोजनाको लामो समयसम्म भुक्तानी नहुँदा व्यवसायी चरम आर्थिक संकटमा परेका छन्। बैंकको ब्याजको मार पनि उत्तिकै छ । अर्को समस्या निर्माण सामग्रीको मूल्यवृद्धि तथा अभाव हो। इन्धन, गिटी, बालुवा, डण्डीजस्ता अत्यावश्यक निर्माण सामग्रीको अप्रत्याशित मूल्यवृद्धि भइरहेको छ। स्थानीयस्तरमा क्रसर तथा खानी उद्योग सञ्चालनमा आउन नसक्दा कानुनी जटिलताका कारण निर्माण सामग्री सहज रूपमा उपलब्ध हुन नसक्ने अवस्था पनि छ ।

यी समस्या समाधानका लागि भुक्तानीका विषयमा दबाबमूलक सहकार्य गर्नेछु। संघीय कार्यालय, प्रदेश सरकार र स्थानीय तहसँग निरन्तर समन्वय गरी बाँकी रहेका भुक्तानी तत्काल निकासा गराउन मन्त्रालय तथा सम्बन्धित निकायमा संस्थागत रूपमा पहल र सहजीकरण गर्नेछु।  त्यसैगरी निर्माण सामग्रीको मूल्य समायोजन र सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्नेछु। स्थानीयस्तरमा उपलब्ध हुने निर्माण सामग्री कसरी सहज रूपमा आपूर्ति गर्न सकिन्छ, कुन दररेट कायम गर्दा व्यवसायीले सहज रूपमा सामग्री उपलब्ध गराउन सक्छन् तथा मूल्यवृद्धि भएका निर्माण सामग्रीको ठेक्का सम्झौतामा कसरी मूल्य समायोजन गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित कार्यालयसँग समन्वय गर्नेछु।

प्रश्न : निर्माण व्यवसायी र स्थानीय तहबीचको सम्बन्ध तथा समन्वयलाई प्रभावकारी बनाउन संघले आगामी दिनमा कस्तो भूमिका खेल्नेछ ?

उत्तर : सहजीकरण र संवादका लागि स्थायी संयन्त्र निर्माण गर्ने हाम्रो अवधारणा छ। स्थानीयस्तरका विकास निर्माणसम्बन्धी योजनामा आउने भुक्तानी, म्याद थप तथा प्राविधिक समस्याको समाधानका लागि निर्माण व्यवसायी संघ धनकुटा र स्थानीय तहका जनप्रतिनिधि बीच नियमित छलफल, अन्तरक्रिया र सहकार्य गर्नेछौँ । त्यसका लागि संघले स्थायी संवाद संयन्त्रका रूपमा काम गर्नेछ। अर्को विषय क्षमता अभिवृद्धि र मापदण्ड पालनासँग सम्बन्धित छ। स्थानीय पूर्वाधार आयोजनाको गुणस्तर कायम राख्न सार्वजनिक खरिद ऐन तथा नियमावलीको सही कार्यान्वयन गराउन सम्बन्धित व्यवसायीलाई स्थानीय कानुन तथा मापदण्डबारे सचेत गराउनेछौँ । यसका लागि सम्बन्धित निकायसँगको सहकार्यमा संयुक्त तालिम, अभिमुखीकरण तथा सहजीकरणका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेका छौँ।

प्रश्न : ठेक्का सम्झौतापछि समयमै काम सम्पन्न हुन नसक्ने समस्या देखिन्छ। यसको मुख्य कारण के हो र गुणस्तरीय तथा समयमै निर्माण सम्पन्न गराउन तपाईंको योजना के छ ?

उत्तर : निर्माण कार्य समयमै सम्पन्न हुन नसक्नुका मुख्य कारणमा निर्माणस्थलमा साइट क्लियर नहुनु, बीचमा डिजाइन संशोधन हुनु तथा निर्माण सामग्रीको दररेटमा फरक पर्नु रहेका छन् । गुणस्तरीय र समयमै काम सम्पन्न गराउन सबैभन्दा पहिले ठेक्का सम्झौताअघि नै आवश्यक पूर्वतयारीमा ध्यान दिनुपर्छ। जग्गा प्राप्तिको अवस्था, साइट क्लियरिङ तथा डिजाइन र स्पेसिफिकेसन स्पष्ट छन् कि छैनन् भन्ने सुनिश्चित गर्नुपर्छ । त्यसपछि कार्यतालिका बनाएर लक्ष्य निर्धारण गर्ने र तोकिएअनुसार मासिक प्रगति भएको छ कि छैन भनेर निर्माणस्थलमा कडाइका साथ अनुगमन गर्ने व्यवस्था आवश्यक छ। सम्बन्धित निकायलाई पनि नियमित अनुगमनका लागि सहजीकरण गर्नेछौँ । गुणस्तर परीक्षणका लागि नियमित रूपमा प्राविधिक टोली निर्माणस्थलमा पुग्ने व्यवस्था र त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुपर्छ।

त्यसैगरी नियमित भुक्तानी र ठेक्का व्यवस्थापन पनि महत्वपूर्ण विषय हो। काम सम्पन्न भएका खण्डको समयमै भुक्तानी हुँदा निर्माण व्यवसायीको नगद प्रवाह अर्थात् ‘क्यास फ्लो’ सुचारु रहन्छ। यसले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सहयोग पुग्छ। यस विषयमा संस्थागत रूपमा पहल गर्ने प्रतिबद्धता मैले निर्माण व्यवसायीहरूसँग गरेको छु।

प्रश्न : पछिल्लो समय निर्माण व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र न्यून दरमा ठेक्का लिने प्रवृत्तिलाई तपाईंले कसरी हेर्नुभएको छ ?

उत्तर : निर्माण व्यवसायीका समस्या मुख्य रूपमा बजेट भुक्तानी तथा नीतिगत जटिलतासँग सम्बन्धित छन्। यी विषयलाई सम्बोधन गर्न सम्बन्धित मन्त्रालय तथा निकायसँग तत्काल संयुक्त बैठक बस्ने र समस्याको सूची तयार गर्ने योजना छ।  समस्या समाधानका लागि स्पष्ट कार्यतालिका र समयसीमा निर्धारण गरी त्यसअनुसार कार्यान्वयन गराउन निरन्तर समन्वय र पहल गर्नेछु।

प्रश्न : निर्माण व्यवसायको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति विकासका लागि तपाईंको योजना के छ ?

उत्तर : प्रविधि र क्षमता विकास नै मूल विषय हो। आधुनिक निर्माण प्रविधि, बोलपत्र प्रक्रिया तथा ठेक्का व्यवस्थापनबारे स्थानीय निर्माण व्यवसायीलाई नियमित रूपमा उच्चस्तरीय तालिम सञ्चालन गरी क्षमता विकास गर्नु आवश्यक छ । साना तथा ठूला सबै आयोजनामा प्रतिस्पर्धा गर्न सक्ने र व्यवसायीलाई सबल तथा सफल बनाउन साझेदार संस्थाको सहभागिता सुनिश्चित गर्दै क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सोच छ।  आधुनिक निर्माण प्रविधि तथा ठेक्का प्रक्रिया र व्यवस्थापनबारे नियमित तालिम सञ्चालन गर्नु प्राथमिकतामा रहनेछ। साथै सम्बन्धित निकायसँग नीतिगत व्यवस्थाका विषयमा छलफल गर्ने र स्थानीय स्रोतसाधन तथा स्थानीय व्यवसायीलाई प्राथमिकता दिई सशक्त बनाउने विषयमा पनि पहल गरिनेछ। साझेदार संस्थासँगको सहभागिता सुनिश्चित गर्दै रचनात्मक कार्यक्रममार्फत निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्ने कुरामा म प्रतिबद्ध छु।

प्रश्नः अन्त्यमा, आफ्नो कार्यकालमा नेपाल निर्माण व्यवसायी संघ धनकुटालाई कस्तो अवस्थामा पुर्‍याउने लक्ष्य लिनुभएको छ ? व्यवसायी र जिल्लावासीलाई तपाईंको मुख्य प्रतिबद्धता के हो ?

उत्तर : मेरो कार्यकालमा नेपाल निर्माण व्यवसायी संघ धनकुटालाई मर्यादित, प्रविधिमैत्री र समृद्ध संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छु । मेरो मुख्य प्रतिबद्धता भनेको स्वस्थ प्रतिस्पर्धा, समयमै बजेट भुक्तानी र क्षमता अभिवृद्धिमार्फत धनकुटाका सम्पूर्ण निर्माण व्यवसायीलाई व्यावसायिक रूपमा सुरक्षित र सबल बनाउनु हो ।

‘गुणस्तरीय र समयबद्ध धनकुटा निर्माण’ भन्ने लक्ष्यका साथ जिल्लाका हरेक विकास आयोजनालाई तोकिएकै समयमा उच्च गुणस्तरका साथ सम्पन्न गराई जिल्लावासीलाई पूर्वाधार विकासको प्रत्यक्ष अनुभूति दिलाउने लक्ष्य राखेको छु।

संघलाई पारदर्शी र उत्तरदायी नेतृत्व प्रदान गर्दै केवल व्यवसायीको हकहितमा मात्र सीमित नराखी जिल्लाको सामाजिक तथा आर्थिक रूपान्तरण र विपद् व्यवस्थापनमा समेत भरपर्दो साझेदार संस्थाका रूपमा अघि बढाउनेछु। यसका साथै विभिन्न रचनात्मक सामाजिक कार्यमार्फत संस्थालाई थप स्थापित गर्ने लक्ष्य छ।

समग्रमा निर्माण व्यवसायीलाई आम नागरिकले केवल ‘ठेकेदार’का रूपमा मात्र बुझ्ने अवस्था परिवर्तन गर्न आवश्यक छ। निर्माण व्यवसायी भनेका राज्यको भौतिक पूर्वाधार निर्माणमा ठूलो हिस्सा योगदान गर्ने व्यवसायी हुन्। भौतिक पूर्वाधार निर्माणबिना विकास निर्माण सम्भव छैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ।

मलाई धनकुटा निर्माण व्यवसायी संघको अध्यक्षका रूपमा विश्वास गरेर जिम्मेवारी दिनुभएका निर्माण व्यवसायी साथीहरूलाई मेरो कार्यकालमा अभिभावकीय अभाव महसुस हुन दिनेछैन। निर्माण व्यवसायीका साना–ठूला समस्या तथा आपत्–विपत्का हरेक अवस्थामा मेरो प्रतिनिधित्व र अभिभावकीय भूमिका उपलब्ध गराउनेछु । निर्माण व्यवसायी साथीहरूलाई नेतृत्वविहीन संस्था रहेको महसुस हुन नदिई संस्थागत रूपमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

images
images
अन्तर्वार्ता

प्रतिक्रिया दिनुहोस्

images