images
images
images

व्यवसायीका समस्या समाधान र रोजगारी सिर्जना हाम्रो प्राथमिकता

images

गत भदौ ६ गते शनिबार सम्पन्न निर्वाचनबाट धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर राया ‘श्रीराम’ निर्वाचित भए । धनकुटा उद्योग वाणिज्य संघ जिल्लाका उद्योगी–व्यवसायीहरूको छाता संगठन हो । संघले व्यवसायीहरूको पेशागत हकहित, समस्या समाधान तथा व्यवसाय प्रवर्द्धनका विषयमा भूमिका निर्वाह गर्दै आएको छ । आगामी दिनमा संघलाई कसरी अगाडि बढाउने योजनामा छन् ?  उद्योगी–व्यवसायीका समस्या समाधान तथा व्यवसाय प्रवर्द्धनका लागि उनका योजना र कार्यक्रम के-के छन् ? यिनै विषयमा केन्द्रित रहेर नवनिर्वाचित अध्यक्ष रामबहादुर राया ‘श्रीराम’सँग गरिएको कुराकानीको सारः

प्रश्नः सर्वप्रथम यहाँलाई बधाई छ। तपाईंले आफ्नो यो जितलाई कसरी लिनुभएको छ ?

images
images

उत्तरः मैले यो जितलाई एउटा अवसरका रूपमा भन्दा पनि चुनौतीका रूपमा लिएको छु। उद्योग वाणिज्य संघ धनकुटाको आजको अवस्था हामी सबैलाई सर्वविदितै छ। एउटा सामान्य ढंगबाट चल्न पनि कठिनाइ पर्दै गरेको, घिस्रेर चल्दै गरेको अवस्था छ। अब यसलाई घिस्रेर होइन, दौडेर चलाउनुपर्छ भन्ने कुरामा प्रतिबद्ध भएर स्पष्ट कार्यक्रमसहित आएको छु।

त्यो चुनौतीको सामना गरेर कम्तीमा यो संघलाई धेरै महत्वाकांक्षी पनि नभईकन एउटा व्यवस्थित ढंगले सञ्चालन भएको छ र यसले आफूले गर्नुपर्ने भूमिका निर्वाह गरेको छ भन्ने प्रत्याभूति हाम्रा सदस्यहरूलाई गराउने मेरो अहिलेको प्रमुख लक्ष्य र उद्देश्य हो। मैले यसलाई चुनौतीका रूपमा लिएको छु।

प्रश्नः अध्यक्षमा निर्वाचित भएपछि तपाईंले आफ्नो पहिलो प्राथमिकता केमा राख्नुभएको छ ?

उत्तरः म धनकुटा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित हुँदै गर्दा प्राथमिकताका आधारमा १५ वटा कार्यक्रम बनाएर यसअघि पत्रकार सम्मेलनमार्फत घोषणा गरेको छु। ती कार्यक्रमहरूलाई विशेष रूपमा समेटेर जाने हो।

ती कार्यक्रमहरूलाई समेट्दै गर्दा पहिलो कार्यक्रमका रूपमा सानो काम भए पनि त्यसको प्रभाव अलिकति रहन्छ कि भन्ने हिसाबले अगाडि बढ्ने योजना छ। धनकुटामा व्यवसाय गरिरहेका धेरै व्यवसायी साथीहरूले व्यवसायमा कामदार पाइरहेको अवस्था छैन। धेरै बेरोजगार अवस्थामा रहेका साथीहरू पनि हुनुहुन्छ। उहाँहरू पनि कहाँ काम पाइन्छ अर्थात् रोजगारी कहाँ छ भन्ने कुरासँग जोडिनुभएको छैन। नगरपालिकाले पहिला गरेको कार्यक्रम पनि त्यति प्रभावकारी हुन सकेन।

त्यसैले उद्योग वाणिज्य संघको पहिलो काम रोजगारदाता र रोजगारी चाहने व्यक्तिबीच समन्वय गरेर उहाँहरूलाई जोड्ने हुनेछ। उद्योग वाणिज्य संघको तर्फबाट ‘रोजगार एजेन्ट’का रूपमा एउटा कार्यक्रम सञ्चालन गरी सबैलाई जोड्ने र समन्वयकारी पुलको भूमिका निर्वाह गर्ने योजना बनाएका छौं।

प्रश्नः निर्वाचनका क्रममा गरेका प्रतिबद्धता कार्यान्वयनका लागि तपाईंको स्पष्ट कार्ययोजना के छ ?

उत्तरः मैले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयन गर्न त्यति ठूलो समस्या मैले देखेको छैन। आर्थिक रूपमा धेरै पैसा लगानी गर्नुपर्ने कार्यक्रमहरू छैनन्। एउटा–दुईवटा बाहेक अन्य रचनात्मक कामहरू छन्।

रचनात्मक कामका निम्ति हामीसँग इच्छाशक्ति छ र सक्रिय हुने खालको टिम पनि छ। त्यही आधार नै यी कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ भन्ने हाम्रो आधार हो।

प्रश्नः धनकुटा बजार क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउन स्थानीय सरकारसँग कसरी सहकार्य गर्नुहुन्छ ?

उत्तरः स्थानीय सरकारसँग बजारलाई व्यवस्थित गर्ने विषयमा मैले ‘सरकारसँग सहकार्य गरेर गर्ने, सरकारसँग उद्यमी’ भन्ने कार्यक्रम बनाएको छु। सोही कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रम घोषणा गरेपछि, सपथ ग्रहण र पदभार ग्रहण गरेको केही दिनभित्रै एउटा प्रस्ताव तयार गरेर स्थानीय तह तथा नगरपालिकासँग जाने र हाम्रा कुराहरू राख्ने तयारीमा छौं।

बजारलाई व्यवस्थित बनाउन अनेक विषय छन्। पार्किङका विषय छन्, सवारीसाधनको आवतजावतका विषय छन्। ती विषयहरू प्रारम्भिक चरणमा समाधान गर्नका लागि हामी नगरपालिका जाने तयारीमा छौं।

प्रश्नः जिल्लामा पछिल्लो समय उद्योग बन्द हुँदै पनि गएका छन्। त्यसको प्रत्यक्ष असर तपाईंहरूको सदस्यता नवीकरणमा पनि देखिएको छ। त्यसलाई जोगाउन संघको भूमिका कस्तो रहनेछ ?

उत्तरः धनकुटामा दर्ता भएका र सञ्चालनमा रहेका लघु उद्योगहरू पनि बन्द भएका छन्। यो कुरा हामीले यसअघि पनि भन्दै आएका छौं। यो दुःखद कुरा पनि हो। कतिपय उद्योगीहरूलाई कामदारको समस्या छ, लगानीमा केही समस्या छ भने बजारीकरणको समस्या पनि मुख्य रूपमा देखिएको छ।

अब उद्योगहरूलाई पुनःस्थापित गर्ने विषयमा घरेलु कार्यालयसँग समन्वय गर्ने र सरकारसँग रहेका त्यस्ता खालका कार्यक्रमसँग पनि जोडिने हाम्रो योजना छ। हामी उद्यमीहरूलाई एकपटक सामूहिक रूपमा भेला गरेर उहाँहरूका समस्याहरू सुन्ने र त्यसको निराकरणतर्फ लाग्ने तयारीमा छौं।

प्रश्नः धनकुटामा एभोकाडो, अकबरे खुर्सानी, चिया, कफी, बिस्कुटलगायत विभिन्न उत्पादन हुन्छन्। विशेषगरी रैथाने उत्पादनको बजारीकरणमा संघले कस्तो भूमिका खेल्न सक्छ जस्तो लाग्छ तपाईंलाई ?

उत्तरः यहाँ उत्पादन हुने एभोकाडो, धनकुटाको कोसेलीका रूपमा उत्पादन हुने बिस्कुट, अन्य फलफूल, सुन्तलालगायतका उत्पादनको बजारीकरण सामान्य रूपमा अहिले एक प्रकारले चलेको छ। अब त्यसलाई अझै व्यावसायिक ढंगले र सुरक्षित ढंगले सञ्चालन गर्नका निम्ति स्थानीय तहहरूसँग पनि समन्वय गर्ने योजना छ।

विशेषगरी कृषि क्षेत्रमा आबद्ध भएर अनुभव प्राप्त गरेका व्यक्तिहरू तथा बजारीकरणसम्बन्धी अनुभव प्राप्त गरेका व्यवसायीहरूलाई हाम्रो संघको एउटा कार्यक्रममा बोलाएर पहिलो चरणमा परामर्शको कार्यक्रम गर्ने तयारीमा छौं। त्यसपछि त्यो परामर्श र सरसल्लाहले कस्तो खालको रूप लिन्छ, त्यसअनुसार अगाडि बढ्ने हाम्रो तयारी छ।

प्रश्नः पछिल्लो समय व्यवसायीहरूले कर तथा राजस्वसम्बन्धी धेरै समस्याहरू भोग्दै आइरहेका छन्। यसलाई कसरी उठाउनुहुन्छ ?

उत्तरः करसम्बन्धी विषयमा व्यवसायीलाई दण्डित गर्ने र जरिवाना गर्ने कुरा अनुगमनका क्रममा पनि देखिएको छ। कतिपय व्यवसायीहरू नै त्यस विषयमा जानकार नभएका कारण पनि यस्तो भएको छ भने कतिपयमा थोरै लापरबाहीका कारण पनि भएको छ।

हामी पहिलो चरणमा उहाँहरूलाई तपाईंले गरेको पेसा तथा व्यवसायलाई कानुनी र मर्यादित ढंगले सञ्चालन गर्नका लागि यी–यी कुराहरू अपनाउनुपर्छ भनेर तालिमको कार्यक्रम आयोजना गर्दैछौं। त्यसपछि पनि उहाँहरू कुनै कारणले अनुगमनमा दण्डित हुनुपर्ने अवस्था आएमा एक–दुई पटकसम्म उहाँहरूलाई सचेत गराउने खालको भूमिका निर्वाह गरिदिनुहोला भनेर सम्बन्धित निकायलाई पनि अनुरोध गर्नेछौं।

त्यो खालको रणनीतिले करको विषयमा एक तहसम्म दण्डित हुने कुरा होला। तर कर शिक्षाको विषयमा अहिले नयाँ–नयाँ कुराहरू पनि आइरहेका छन्। अहिलेको सरकारले ल्याएका कुराहरूका विषयमा कर कार्यालयसँग समन्वय गरेर कर शिक्षा कार्यक्रम पनि लागू गर्छौं।

प्रश्नः तपाईंले अनुगमनको कुरा गर्नुभयो। पछिल्लो समय उपभोक्ताको गुनासो भन्दै सरकारी निकायबाट व्यवसायको अनुगमन गर्ने र व्यवसायीलाई जरिवाना तिराउने घटना बढिरहेका छन्। यसमा संगठन कमजोर भएर हो कि खासमा किन यस्तो भइरहेको छ ?

उत्तरः अलिअलि त्यो पनि हो। अलिअलि हाम्रो भूमिका पनि कम देखिएकै हो। त्यसमा विविध कारणहरू हुन सक्छन्। तर अबको दिनमा हामी यस विषयमा सक्रिय हुन्छौं।

व्यवसायीहरूको हकहितका निम्ति स्थापित संस्था भएकाले पनि उहाँहरूका निम्ति बोलिदिनुपर्ने हाम्रो ठूलो जिम्मेवारी छ। उहाँहरूलाई दण्डित गर्ने विषय आउँदा हामीले यसो होइन, यसरी जाऔं भनेर प्रशासनसँग समन्वय गर्नुपर्ने भूमिका पनि छँदैछ।

तथापि, अघि मैले भनेजस्तै व्यवसायीहरूलाई पनि व्यावसायिक र मर्यादित ढंगले व्यवसाय सञ्चालन गर्न तथा कानुनको पालना गर्नका लागि तालिम अर्थात् अभिमुखीकरण कार्यक्रमको व्यवस्था गर्छौं।

प्रश्नः अन्त्यमा, तपाईं भोट माग्ने क्रममा व्यवसायीका घरदैलोमा जाँदा उहाँहरूले कस्ता किसिमका समस्याहरू राख्नुभयो ? त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?

उत्तरः पछिल्लो समयमा भोट माग्ने क्रममा उहाँहरूको व्यवसायस्थलमा पुगेर मत अपिल गर्दै गर्दा कतिपय व्यवसायीहरूले मलाई यो समयमा यस्तो समस्या परेको थियो, उद्योग वाणिज्य संघले केही पनि बोलिदिएन, केही पनि गरेन भन्नुभयो। कतिपय साथीहरूले मलाई कानुनी रूपमा यसरी दण्डित गरिएको बेला पनि संघले केही बोलिदिएन भन्ने खालका गुनासो गर्नुभयो।

सामान्यतया आएका समस्याहरू ती नै हुन्। कतिपय साथीहरूले उद्योग वाणिज्य संघले के काम गर्छ भन्ने विषयमा पनि प्रश्न उठाउनुभएको छ। उहाँहरूलाई हामीले समय लिएर त्यहीँ पनि पाँच–दस मिनेट उद्योग वाणिज्य संघले के गर्छ भन्ने विषयमा जानकारी दिएका छौं।

कतिपय अवस्थामा तपाईंले यसो–यसो गर्नुभएको थियो र त्यसकै कारण दण्डित हुनुभएको होला भन्ने विषयमा पनि छलफल गर्‍यौं। त्यस्ता विषयमा कतिपयले हामीलाई जानकारी नगराएका पनि केसहरू छन्। जानकारी आएको विषयमा हामीले पहल गरेको उदाहरणहरू पनि दिएका छौं।

त्यसैले ती सबै गुनासाहरू हामीले टिपोट गरेका छौं। अब ती कुराहरूलाई पहिलो बैठकमै राखेर त्यसको निराकरणतर्फ कसरी जाने भन्ने विषयमा हाम्रो पूर्वतयारी छ।

images
images
अन्तर्वार्ता

प्रतिक्रिया दिनुहोस्