images
images
images

खाम्बेला आठपहरिया सामुदायिक होमस्टे: रैथाने संस्कृति र महिलाको उद्यमशीलता

images

हरिबहादुर लम्जेल । धनकुटा

धनकुटा नगरपालिका वडा नं ८ खाम्बेलामा सञ्चालनमा आएको ‘खाम्बेला आठपहरिया सामुदायिक होमस्टे’ अहिले स्थानीय संस्कृति संरक्षण, ग्रामीण पर्यटन प्रवर्द्धन तथा महिलाको उद्यमशीलताको उदाहरणका रूपमा विकास हुँदै गएको छ । पहिले होमस्टे सञ्चालनबारे खासै जानकारी नभएका यहाँका स्थानीय महिलाहरू अहिले तालिम, सहजीकरण र सामूहिक प्रयासमार्फत व्यवस्थित रूपमा पाहुनाघर सञ्चालन गर्न सफल भएका छन् । खाम्बेला आठपहरिया सामुदायिक होमस्टेकी अध्यक्ष विनिता राई का अनुसार हुसाडेक, इसिमोड, अष्ट्रेलियन सरकार तथा नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको HIGRID परियोजनामार्फत तालिम पाएपछि होमस्टे सञ्चालनको सुरुवात गरिएको हो ।

images
images

यसै वर्ष धनकुटा नगरपालिकामा औपचारिक रूपमा दर्ता गरिएको होमस्टेमा अहिले विदेशी पाहुनासमेत पुग्न थालेका छन् । स्थानीय परिकार, संस्कृति र गाउँको जीवनशैली अनुभव गराउँदै महिलाहरूले आयआर्जनको नयाँ बाटोसमेत खोजेका छन् । हाल पाँच घर महिला सदस्यको सक्रिय सहभागितामा सञ्चालन भइरहेको होमस्टेमा समग्रमा २८ घरपरिवार आबद्ध रहेका छन् । सुरुवाती चरणमा दर्ता प्रक्रिया तथा सञ्चालन व्यवस्थापनबारे जानकारी अभावका कारण समस्या भए पनि विभिन्न निकायको सहयोगपछि अहिले सञ्चालन सहज बन्दै गएको अध्यक्ष विनिता राई बताउँछिन् ।

होमस्टेमा आउने पाहुनाहरूले अर्गानिक तथा रैथाने परिकारको स्वाद लिन पाउँछन् । सिजनअनुसार राजमा, बोडी, कोइरालो, टिम्बुरको अचार, भटमासको अचार लगायत स्थानीय उत्पादन यहाँका मुख्य आकर्षण बनेका छन् । साथै आठपहरिया समुदायको भेषभूषा, संस्कृति, रहनसहन र परम्परासँग नजिकबाट परिचित हुने अवसर पनि पाहुनाहरूले पाउँछन् ।

धनकुटा सदरमुकामबाट त्रिवेणीचोक हुँदै चुलीवन–सान्ताङ मार्ग भएर करिब डेढदेखि दुई घण्टाको पैदल यात्रापछि होमस्टे पुग्न सकिन्छ । बाटोभरि देखिने हरियाली जंगल, डाँडाकाँडा, ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यले यात्रालाई थप आकर्षक बनाउने गरेको छ ।

केही महिना अघि धनकुटा नगरपालिका वडा नं ८ मा निर्माण गरिएको आकाशेपानी संकलन, संरक्षण तथा उपभोग क्षेत्रको अवलोकनसँगै खाम्बेला आठपहरिया सामुदायिक होमस्टेको सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको थियो । जिम्मेवारीपूर्ण पर्यटन प्रवर्द्धनसम्बन्धी परियोजना अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो ।

हाल होमस्टेमा प्रत्येक घरमा दुई–दुई वटा कोठा छुट्याइएको छ । एक पटकमा १० जना पाहुनालाई आवासको व्यवस्था गर्न सकिने तथा समूहगत आगमन हुँदा १५ जनासम्मलाई बसोबास गराउन सकिने क्षमता रहेको अध्यक्ष राईले जानकारी दिइन् ।

उनका अनुसार होमस्टे सञ्चालनपछि स्थानीय महिलाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन थालेको छ । महिलाहरू आर्थिक गतिविधिमा सक्रिय बन्नुका साथै सामूहिक निर्णय प्रक्रिया र व्यवस्थापनमा समेत सहभागी हुन थालेका छन् ।

तर, पूर्वाधार अभाव भने अझै चुनौतीकै रूपमा रहेको छ । शौचालय, बाथरुम, पाहुना बस्ने कोठा तथा खाजा खाने भवन निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ । स्थानीय महिलाहरूले हुसाडेक नेपाल, इसिमोड, धनकुटा नगरपालिका तथा वडा कार्यालयसँग पूर्वाधार विकासमा सहयोगको अपेक्षा गरेका छन् ।  खाम्बेला क्षेत्रमा रैथाने बालीको पकेट क्षेत्रका रूपमा कृषि पर्यटनको अभ्याससमेत भइरहेको छ । स्थानीयको विश्वास छ-आवश्यक पूर्वाधार र सहयोग प्राप्त भए खाम्बेला आठपहरिया सामुदायिक होमस्टे धनकुटाको ग्रामीण पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्