धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लिएर जिल्लाका उद्योगी–व्यवसायीबीच चुनावी माहौल तातेको छ । नयाँ नेतृत्व चयनका लागि दुई समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि निर्वाचन गतिविधि तीव्र बनेको हो । गत साउन १६ गते सम्पन्न संघको ४६ औँ साधारणसभा तथा अधिवेशनले निर्वाचन समिति गठन गरेपछि समितिले आगामी भदौ ६ गते निर्वाचन गर्ने मिति तय गरेको थियो । सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास सफल हुन नसकेपछि दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
निवर्तमान उपाध्यक्ष कृष्णराज श्रेष्ठ र निवर्तमान कार्यवाहक महासचिव रामबहादुर रायामाझीले छुट्टाछुट्टै प्यानल बनाएर अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचन नजिकिएसँगै दुवै समूहले प्रचारप्रसार तथा मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।
अध्यक्षका प्रत्याशी रायामाझीले व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, कर तथा नीतिगत सुधार, बजार व्यवस्थापन, व्यवसायीको सुरक्षा र बैंकिङ क्षेत्रका समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् ।
त्यस्तै, अर्का अध्यक्ष प्रत्याशी श्रेष्ठले धनकुटाको व्यापारिक गतिविधि विस्तार, नयाँ लगानी आकर्षित गर्ने वातावरण निर्माण र व्यवसायीमैत्री नीति निर्माणमा संघको नेतृत्व प्रभावकारी हुनुपर्ने बताएका छन् ।
यसैबीच, संघका केही पदमा भने निर्विरोध नेतृत्व चयन भएको छ । महासचिव पदमा उज्ज्वल कर्माचार्य निर्विरोध निर्वाचित भएका छन्। वस्तुगत सदस्यतर्फ तुमराज लिम्बू, सफल राई र जिल्ला श्रेष्ठ, उद्योग सदस्यमा राजु प्रधान तथा महिला सदस्यमा गंगामाया गुरुङ र प्रमिसा श्रेष्ठ थापा निर्विरोध चयन भएका छन् ।
निर्विरोध निर्वाचित सातै जना रायामाझी नेतृत्वको प्यानलका रहेको जनाइएको छ। अब अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यसहित १२ पदका लागि निर्वाचन हुने भएको छ। निर्वाचनलाई लिएर व्यवसायीहरू पनि आ–आफ्नो पक्षमा माहौल बनाउन सक्रिय भएका छन् । व्यवसायी पलायनको समस्या बढिरहेको भन्दै त्यसलाई सम्बोधन गर्न सक्ने नेतृत्वलाई प्राथमिकता दिने यूवा व्यवसायी विपिन दाहालले बताए । अर्का व्यवसायी श्यामबाबु साहले व्यवसायीका माग र समस्यालाई सम्बोधन गर्दै उनीहरूको पक्षमा काम गर्न सक्ने नेतृत्व निर्वाचित हुनुपर्ने बताए ।
निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन दर्ता तथा उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशनलगायत निर्वाचनपूर्वका आवश्यक प्रक्रिया पूरा भइसकेका छन् ।
धनकुटा उद्योग वाणिज्य संघमा करिब ४ सय ३२ सदस्य रहेका छन्। निर्वाचनबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।



हुलाकी पाटी 


















प्रतिक्रिया दिनुहोस्