images
images
images

धनकुटा–३ वडास्तरीय लैंगिक हिंसा प्रतिकार्य मञ्च गठन

images

धनकुटा । धनकुटा नगरपालिका वडा नं ३ मा वडास्तरीय लैंगिक हिंसा प्रतिकार्य मञ्च गठन गरिएको छ । लैंगिक हिंसा न्यूनीकरण तथा प्रभावितलाई आवश्यक सहयोग र समन्वय गर्ने उद्देश्य सहित १५ सदस्यीय वडा स्तरीय लैंगिक हिंसा प्रतिकार्य मञ्च गठन गरिएको हो ।
३ नं वडा कार्यालयको सभाहलमा सम्पन्न वडा भेलाले मञ्चको अध्यक्षमा मञ्जु कार्की, सचिवमा भक्तबहादुर थापा र वडाध्यक्ष विकास घिमिरे संरक्षक रहेका छन् । समुदायस्तरमा हुन सक्ने लैंगिक हिंसाका घटना न्यूनीकरण गर्नुका साथै हिंसामा परेका व्यक्तिलाई आवश्यक सहयोग, सहजीकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्ने उद्देश्यले मञ्च गठन गरिएको जनाइएको छ।

वडाध्यक्ष विकास घिमिरेको अध्यक्षता तथा नगर उपप्रमुख भीमादेवी खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा वडा स्तरीय मञ्चको आवश्यकता, परिचालन विधि तथा लैंगिक हिंसा प्रभावितलाई सरकारले उपलब्ध गराउने सहयोगका विषयमा अभिमुखीकरणसमेत गरिएको थियो ।

images
images

कार्यक्रममा नगर उपप्रमुख खनालले लैंगिक हिंसा जघन्य अपराध भएकाले यसको न्यूनीकरण तथा अन्त्यका लागि समुदायको तल्लो तहसम्म सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । उनले लैंगिक हिंसा न्यूनीकरणमा आम वडावासीको सहयोग आवश्यक रहेको बताउँदै धनकुटा नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका सबै १० वटै वडामा वडा स्तरीय लैंगिक हिंसा प्रतिकार्य मञ्च गठन गरी परिचालनलाई प्राथमिकता दिएको जानकारी दिइन् । मञ्चलाई बधाई तथा शुभकामना दिँदै उपप्रमुख खनालले लैंगिक हिंसाका घटना हुन नदिन समुदायस्तरमै सचेतना फैलाउने र घटना भइहालेमा पीडितलाई आवश्यक सहयोग तथा सेवासँग जोड्न मञ्चले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् ।

नेपाल सरकारको महिला, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको कार्यान्वयन तथा विश्व बैंकको आर्थिक सहयोगमा धनकुटा नगरपालिकाले सञ्चालन गरिरहेको ‘लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना’ अन्तर्गत वडा स्तरीय कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका सबै वडामा यस्ता मञ्च गठन गरी लैंगिक हिंसाविरुद्ध समुदायस्तरमा प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्