धनकुटा । सहिदभूमि गाउँपालिका–४ पिप्ले र छथरजोरपाटी गाउँपालिका–६ सिँधुवामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । आर्थिक वर्ष २०८२/८३ अन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई (तेह्रथुम) जोन प्राविधिक एकाई धनकुटाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।
माटो तथा मल परीक्षण प्रयोगशाला, कोशी प्रदेश (झुम्का, सुनसरी) सँगको समन्वयमा सञ्चालन गरिएको शिविरमा स्थानीय किसानहरूको खेतबारीको माटो परीक्षण गरिएको छ । शिविरमार्फत माटोको स्वास्थ्य अवस्था, आवश्यक पोषक तत्व तथा मलखादको उचित मात्रा निर्धारण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
आधुनिकीकरण कार्यक्रम (तेह्रथुम जोन) को कार्यक्रम कार्यान्वयन एकाई तेह्रथुमका प्रमुख राजीवकुमार पाख्रिनका अनुसार किसानले प्रयोग गर्ने मलखादको मात्रा वैज्ञानिक आधारमा निर्धारण गर्न माटो परीक्षण अपरिहार्य रहेको छ । “ माटोमा कुन तत्व कति छ र कुन बालीका लागि कति आवश्यक छ भन्ने थाहा पाएपछि अनावश्यक मल प्रयोग घट्छ र उत्पादन बढाउन सहयोग पुग्छ,” उनले बताए ।
उनका अनुसार यस वर्ष सुन्तला, तरकारी र अलैँची बालीलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भइरहेको छ । सहिदभूमि गाउँपालिका क्षेत्रलाई सुन्तलाको प्रमुख उत्पादन क्षेत्र मानिने भएकाले यहाँ माटो परीक्षणलाई विशेष प्राथमिकता दिइएको हो । पछिल्लो समय सुन्तला उत्पादनमा कमी देखिन थालेपछि माटोको अवस्था पहिचान गरी समाधान खोज्न शिविर सञ्चालन गरिएको पाख्रिनले जानकारी दिए ।
शिविरमा मोबाइल भ्यानमार्फत स्थलमै माटो परीक्षण गरिएको छ । परीक्षणपछि किसानलाई तत्कालै नतिजा उपलब्ध गराई आवश्यक मलखाद र सुधारका उपायबारे जानकारी दिइएको जोनले जनाएको छ । माटो परीक्षणबाट प्राप्त प्रतिवेदनलाई केन्द्र सरकारसम्म पुर्याई आगामी दिनमा क्षेत्रअनुकूल कृषि विकासका योजना बनाइने जनाइएको छ ।
स्थानीय किसानले शिविरबाट आफूहरूले प्रयोग गर्ने मलखादबारे स्पष्ट जानकारी पाएको र खर्च समेत घट्ने अपेक्षा व्यक्त गरेका छन् । यस कार्यक्रमले उत्पादन वृद्धि, लागत न्यूनीकरण र दिगो कृषि प्रणाली विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
सहिदभूमि र सिँधुवामा गरिएको माटो परीक्षणबाट फरक–फरक अवस्था देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरीका प्रमुख सहायक माटो विज्ञ राजेन्द्रप्रसाद यादवका अनुसार सहिदभूमिको माटोमा अम्लियपन सामान्य (ठीकठाक) अवस्थामा रहेको पाइएको छ भने सिँधुवाको माटोमा अम्लियपन बढी देखिएको छ ।
उनका अनुसार सहिदभूमिको माटो सुन्तला खेतीका लागि उपयुक्त नै रहे पनि केही हदसम्म अम्लिय छ । “माटोको उर्वराशक्ति मध्यम अवस्थामा छ, तर अम्लियपन सुधार गर्न सकिएमा सुन्तलाको स्वाद र उत्पादन दुवैमा सुधार आउन सक्छ,” उनले बताए ।
यता सिँधुवा क्षेत्रको माटोमा भने अम्लियपन बढी भएकाले विशेषगरी तरकारी खेतीमा असर पर्ने देखिएको उनले जानकारी दिए । “यहाँको माटोमा जैविक तत्व भए पनि अम्लियपनका कारण उत्पादनमा नकारात्मक प्रभाव पर्न सक्छ,” यादवले भने ।
उनले माटोको उपचार र सुधारका उपाय अपनाएमा उत्पादन वृद्धि गर्न सकिने उल्लेख गर्दै बालीअनुसार माटोको अवस्था फरक–फरक हुने भएकाले नियमित परीक्षण आवश्यक रहेको बताए ।
शिविरमा सहिदभूमि र सिँधुवा क्षेत्रका करिब १ सय किसानका खेतबारीबाट माटो नमूना संकलन गरी समग्र क्षेत्रको प्रतिनिधित्व हुने गरी माटो परीक्षण गरिएको थियो ।





हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्