images
images
images

संसदीय टोलीद्वारा धनकुटा–तेह्रथुमका कृषि जोन र अनुसन्धान केन्द्रको अध्ययन तथा स्थलगत अनुगमन

images

धनकुटा । संघीय प्रतिनिधि सभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको टोलीले धनकुटा र तेह्रथुम जिल्लामा सञ्चालन भइरहेका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) अन्तर्गतका कृषि जोनका कार्यक्रमहरु तथा पाख्रिवास कृषि अनुसन्धान केन्द्र र राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेका अनुसन्धानात्मक क्रियाकलापहरुको समिति मार्फत अध्ययन तथा स्थलगत अनुगमन  गरेको छ ।

गतवैशाख २० गते कृषि तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू अशोककुमार चौधरी, सागर ढकाल, केपी खनाल, जनकसिंह धामी, प्रमोदकुमार महतो र शम्भूप्रसाद ढकाल सहित NAMP का कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ, नेपाल कृषि अनुसन्धान परिषद् (NARC) का वैज्ञानिक डा. रामप्रसाद घिमिरे, वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगाना तथा संसद सचिवालयका शाखा अधिकृत रोशन टन्डुकार लगायतको टोलीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ तेह्रथुमअन्तर्गत सञ्चालित तरकारी जोन, सुन्तला जोन, कृषि अनुसन्धान केन्द्र पाख्रीबास तथा सुन्तला अनुसन्धान केन्द्रको स्थलगत अध्ययन तथा अवलोकन गरेको हो ।

images
images

समितिले स्थलगत अध्ययन तथा सरोकारवालासँगको छलफलबाट प्राप्त सुझाव, उपलब्धि र चुनौतीलाई समेटेर विस्तृत प्रतिवेदन तयार गर्ने जनाएको छ। सोही प्रतिवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) र कृषि अनुसन्धानसम्बन्धी कार्यक्रमलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा नीतिगत निर्णयका लागि सुझाव प्रस्तुत गरिने अध्ययन टोलीले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) अन्तर्गत धनकुटा र तेह्रथुम जिल्लामा सञ्चालित कृषि कार्यक्रमहरूको अन्तरनिकाय संयुक्त अनुगमन तथा निरीक्षण कार्यक्रम २०८३ असार २६ र २७ गते सम्पन्न गरिएको छ । टोलीले तरकारी खेतीको क्षेत्र विस्तार, सिँचाइ पोखरी निर्माण, मासु उत्पादन प्रवर्द्धनका लागि सञ्चालन गरिएको राँगा–भैँसी प्रवर्द्धन कार्यक्रम, अलैँची तथा तरकारी बालीमा चक्लाबन्दी कार्यक्रम, उद्यमशीलता विकास कार्यक्रम, दुग्ध व्यवसाय तथा छुर्पी उत्पादनलगायत कार्यक्रमहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।

अन्तरनिकाय संयुक्त अनुगमन तथा निरीक्षण कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकार, तेह्रथुम जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख गुमानसिंह इश्वो, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ (PIU) धनकुटा र तेह्रथुमका प्रमुख राजीवकुमार पाख्रीन, जिल्ला वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, अलैंची, तरकारी र सुन्तला जोन सञ्चालन समन्वय समितिका संयोजक, पत्रकार, कृषक तथा कृषक समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

टोलीले धनकुटाको जोन प्राविधिक एकाइ सिँधुवाअन्तर्गत सञ्चालित तरकारी जोन तथा धनकुटाको सुन्तला जोनका कार्यक्रमहरूको स्थलगत निरीक्षण गर्नुका साथै कार्यक्रमको प्रभावकारिता, उपलब्धि, समस्या र आगामी सुधारका विषयमा सरोकारवालासँग छलफल गरेको थियो । अनुगमनका क्रममा कृषि उत्पादन वृद्धि, व्यवसायीकरण, बजार व्यवस्थापन, प्रविधि विस्तार तथा कृषकको आयस्तर अभिवृद्धिमा कार्यक्रमले पुर्‍याएको योगदानका साथै कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे समेत विस्तृत समीक्षा गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ (PIU) धनकुटा र तेह्रथुमका प्रमुख राजीवकुमार पाख्रीनले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्