खगेन्द्र बस्नेत
धनकुटा । भदौको दोस्रो सातासँगै धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ का किसानलाई मुला खेतीको चटारो सुरु भएको छ । हुस्सु लागिरहने बिहानैदेखि किसानहरू आ–आफ्नो बारीमा पुगेर मुला उखेल्ने, रोप्ने, बीउ छर्ने, बारी सफा गर्ने तथा उत्पादनलाई बजारसम्म पु¥याउने काममा व्यस्त हुने गरेका छन् ।
कसैको बारीमा मुला उखेल्ने बेला भएको छ भने कसैको बारीमा रोप्ने तयारी चलिरहेको छ । कोही बारी सफा गरेर जोत्न व्यस्त छन् भने कोही माटोबाट मुला उखेल्दैछन् । उखेलिएका मुला धुने, पात काट्ने, बोरामा प्याकिङ गर्ने र मुख्य सडकसम्म पु¥याउने काममा समेत किसानको दिन बित्ने गरेको छ ।
सोही क्षेत्रमा वर्षौंदेखि मुला खेती गर्दै आएका युवराज बस्नेतले वार्षिक २० हजार रुपैयाँ ठेक्कामा ३–४ रोपनी जग्गा लिएर तरकारी खेती गर्दै आएका छन् । उनका अनुसार मुला खेतीमा तुलनात्मक रूपमा कम लगानी लाग्ने, आधुनिक प्रविधिबाट खेती गर्न सकिने र रोपेको दुईदेखि अढाई महिनामै उत्पादन लिन सकिने भएकाले किसानका लागि यो खेती सहज छ ।
तर मुला खेतीमा समस्या पनि उत्तिकै रहेको उनी बताउँछन् । गोड्ने समयमा धेरै झार आउने, बजारमा उचित मूल्य नपाउँदा बारीमै मुला जोत्नुपर्ने तथा उत्पादन उखेल्नेदेखि धुने र बोकेर मुख्य सडकसम्म पु¥याउनुपर्ने समस्याले किसानलाई दुःख दिने गरेको उनको भनाइ
छ । “अरू बालीको तुलनामा मुला खेती सहज छ । उत्पादन पनि राम्रो हुन्छ,” बस्नेतले भने, “एक सिजनमा ३–४ रोपनी जग्गाबाटै ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।” आगामी वर्ष मुला खेतीलाई थप विस्तार गर्ने उनको योजना छ ।
त्यस्तै, चुइन्द्र बस्नेत पनि बिहानैदेखि आफ्नै बारीमा उत्पादित मुला उखेल्ने, पात काट्ने, पानी भएको ठाउँसम्म पु¥याउने, धेरै जम्मा भएपछि धोएर बोरामा प्याकिङ गर्ने र मुख्य सडकसम्म पु¥याउने काममा व्यस्त हुन्छन् । उनले ८–१० रोपनी क्षेत्रफलमा मुला खेती गरेका छन् । दैनिक ८ देखि १० बोरासम्म मुला बिक्री गर्ने गरेका उनले धोएर प्याकिङ गरी बाटोसम्म पु¥याएपछि व्यापारीले प्रतिकिलो १३ रुपैयाँका दरले मुला खरिद गर्ने गरेको बताए । उनका अनुसार मुला लगाउँदादेखि उत्पादन निकाल्दासम्मको लगानी सामान्य नै हुन्छ । ८–१० रोपनी क्षेत्रफलमा मुला खेती गर्दा करिब ८ देखि १० हजार रुपैयाँ खर्च हुने र एकदेखि डेढ लाख रुपैयाँसम्म फाइदा हुने उनी बताउँछन् । तर मूल्य निर्धारणमा भने किसानको भूमिका नहुने उनको गुनासो छ । व्यापारीले निर्धारण गरेको मूल्यमा चित्त नबुझे पनि उत्पादन बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए । किसानले उचित मूल्य पाउनका लागि ग्रेडिङ, बजार व्यवस्थापन तथा शुद्धीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । मुला खेती हेर्दा सामान्य लागे पनि उत्पादन बजारसम्म पु¥याउन किसानले निकै मेहनत गर्नुपर्ने उनी बताउँछन् । मुला उखेल्ने, पात काट्ने, धुने, प्याकिङ गर्ने र बजारसम्म पु¥याउनेसम्मका काम गर्नुपर्ने भएकाले खेती झन्झटिलोसमेत हुने गरेको उनको भनाइ छ । मेहनतअनुसारको उचित मूल्य नपाउने समस्या रहेको भन्दै बाह्य आयात घटाएर स्थानीय उत्पादनमा सरकारले जोड दिनुपर्ने बस्नेत बताउँछन् ।
बजारमा देखिने हरेक सेता र चिल्ला मुलामा छथर जोरपाटीका किसानको मेहनत र पसिना जोडिएको छ । सामान्य देखिने यही मुला खेतीले किसानको जीविकोपार्जनमा समेत महत्वपूर्ण सहयोग पु¥याइरहेको छ । बिहानदेखि कृषि कर्ममा खटिने किसानहरू साँझसम्म बारीमै व्यस्त हुन्छन् र अर्को दिनको कृषि कर्मका लागि आ–आफ्नो बासस्थानतर्फ फर्किन्छन् । (प्रशिक्षार्थी पत्रकार)
कभर स्टोरी



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्