images
images
images

पुरातत्व विभागले सुरु गर्यो दार्चुलाको उकु महलको उत्खनन

images

काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान सुरु गरिएको छ । पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष हिरासिंह धामीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी पुरातत्व विभागको टोलीले उत्खनन कार्य थालनी गरेको छ । लामो समयदेखि संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमा समेत ध्यान पुग्ने स्थानीयको अपेक्षा छ ।

images
images

उकु महलको सम्भावनाबारे उत्खनन गर्न पुरातत्व विभागका पुरातत्व अधिकृत हरि भुसाल, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र पुरातत्व विभागकै अधिकृत राकेश परियारले कामको थालनी गरेका छन्। उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृति पर्यटनको ठूलो सम्भावना बोकेको पुरात्व अधिकृत उप्रेतीले बताए । महलको भग्नावशेषमा अहिले पनि शिलालेखमा लेखिएका चट्टान स्पष्ट देख्न सकिन्छ । चट्टानमा शिलालेख लेखिएको र ढुङ्गा कोरेर आकर्षक मूर्ति बनाएका भेटिएका छन् । गत वर्ष पनि सो क्षेत्रमा केही काम भएको थियो । यस वर्ष थप एक महिना काम गर्नेगरी पुरातत्व विभागको टोली आएको भुसालले जानकारी दिए । आगामी फागुन ११ गतेसम्म उत्खनन र अनुसन्धान गर्नेगरी विभागको टोली उकु पुगेको छ । उकु भग्नावशेष वरिपरि, मन्दिर क्षेत्र, घर खेत सबैतिरका चट्टानसमेत सङ्कलन गर्ने काम भइरहेको छ । अहिले पनि भग्नावशेष क्षेत्रका भेटिएका सबै शिलालेख सुरक्षित स्थानमा सार्ने काम भइरहेको भुसालले बताए । “सबै प्रकारका अभिलेख सुरक्षित राख्ने काम भइरहेको छ, सुरक्षित तवरले अभिलेख राखेर अनुसन्धान गर्छौं ।”

उकु महलको संरक्षण र अनुसन्धानका लागि पटक पटक ताकेता भएसँगै पुरातत्व विभागले काम थालनी गरेको हो । अहिले भइरहेको उत्खनन र अनुसन्धानबारे जिल्ला प्रशासन कार्यालय तथा सरोकारवालाई जानकारी गराउने तयारी भएको भुसालको भनाइ छ । यो अवधिमा उकु भग्नावशेष क्षेत्रमा फोटो खिच्न, भिडियोग्राफी र टिकटक बनाउन पुरातत्व विभागको अनुमति लिन अग्रह गरिएको छ । “यो ऐतिहासिक अनुसन्धान कार्य गर्दैछौँ । यो खोजबाट यहाँको वास्तविकता पत्ता लगाएर संरचना कस्तो बनाउने भन्ने विषयमा निर्णयमा पुगिन्छ, गत वर्ष उत्खननका क्रममा एउटा मन्दिर भेटिएको थियो, प्रारम्भमा हेर्दा यहाँ निकै धेरै शिलालेख भेटिने अवस्था छ, यसको पूरै उत्खनन भएपछि यहाँको सांस्कृति, धार्मिक पर्यटकीय महत्व झनै बढ्छ,” भुसाले भने ।

स्थानीय सरकारले चासो देखाएसँगै पुरातत्व विभागले काम थालनी गरेको गाउँपालिका अध्यक्ष धामीको भनाइ छ । उकुमा भएको भग्नावशेषको अभिलेखीकरण र व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने गरी टोली पुगेको हो । सबै क्षेत्रको सहयोगमा अहिले उकु महलको उत्खनन र अनुसन्धानसम्म पुगेको अध्यक्ष धामीको भनाइ छ । हामीले यसको प्रचार–प्रसारमा ल्याउन तथा संरचना निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरेका थियौं । यहाँको इतिहासलाई फेरि एक पटक बिताउने प्रयास गरिएको छ ।”परापूर्वकालको पुरानो दरबारको भग्नावशेषका रुपमा रहेको ठाउँको अध्ययन तथा अन्वेषण र संरक्षणको काम सुरु भएपछि स्थानीय पनि खुसी भएका छन् । स्थानीय धनबहादुर पालले ओझेलमा परेको उकु महलको काम अघि बढेकामा खुसी मान्दै भने, “थोेरै भए पनि संरक्षणका लागि सरकारले ध्यान दिएको छ, यो निरन्तर हुनुपर्छ, महलको उत्खनन र संरक्षण नहुँदा थुप्रै मूर्ति तथा शिलालेख चोरी हुुनाका साथै टुटफुट भएका छन् ।”

परापूर्वकालमा कत्युरी राजाको राजधानीका रुपमा यसलाई निर्माण सुरु गरिएको किंवदन्ती छ । कतुडी राजवंशको अन्त्यपश्चात् १२औँ शताब्दीमा पाल राजा भारतको अस्कोट क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको हुनसक्ने इतिहासका जानकारको भनाइ छ ।हालसम्म पनि उकु, लाली क्षेत्र र उकुसँग सीमा जोडिएको भारतको अस्कोटमा पनि पालको बसोबास रहँदै आएको छ । इतिहासबारे जानकार प्रकाशचन्द्र मिश्र उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बताउछन्। “यो ऐतिहासिक महत्वको स्थल हो, यहाँ भेटिने कोटघर, देवस्थल, दरबारका किल्ला र विभिन्न आकृतिका ढुङ्गाले इतिहास र संस्कृति दर्शाइरहेको देखिन्छ ।”

उक्त क्षेत्रमा ऐतिहासिक किल्ला, ढुङ्गामा कुँदिएका विभिन्न भगवान्का मूर्ति देख्न सकिन्छ । अस्कोटको इतिहासअनुसार परापूर्वकालमा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएको इतिहास छ । दार्चुला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजले पुष्टि गरेको बताइन्छ ।

images
images

प्रतिक्रिया दिनुहोस्