images
images
images

संघर्षदेखि सफलतासम्म : शिमोन राईको जीवनयात्रा

images

काठमाडौंको महँगीमा केही दिनमै सकिएको ३० हजार रुपैयाँ, घरखर्च जुटाउन होम ट्युसन र निरन्तर मेहनत। १९ वर्षको उमेरमा सशस्त्र प्रहरी सहायक निरीक्षक बनेका शिमोन राई अहिले सशस्त्र प्रहरी निरीक्षक तथा गजेटेड अधिकृत बन्न सफल भएका छन्।

विजय राई

images
images

धनकुटा । हरेक सफलताका पछाडि संघर्ष, धैर्य, त्याग र निरन्तर मेहनतको कथा लुकेको हुन्छ। कसैका लागि सफलता सहज अवसरको परिणाम हुन सक्छ भने कसैका लागि अभाव र चुनौतीसँग जुध्दै अघि बढ्नुको उपलब्धि। शिमोन राईको सशस्त्र प्रहरी निरीक्षकसम्मको यात्रा पनि संघर्ष, आत्मविश्वास र दृढ संकल्पको यस्तै प्रेरणादायी कथा हो ।

२०५७ साल माघ १५ गते जन्मिएका शिमोनले सशस्त्र प्रहरी निरीक्षक बन्ने लक्ष्य पूरा गर्न आर्थिक अभाव, अध्ययन र रोजगारीबीचको सन्तुलन तथा लामो तयारीको चुनौती पार गरेका छन्। आज उनी आफ्नो परिवारको पहिलो गजेटेड अधिकृतका रूपमा स्थापित हुन सफल भएका छन्।

विदेश जाने सोचबाट राष्ट्रसेवाको लक्ष्यसम्म
एसईई उत्तीर्ण गरेपछि शिमोनले तत्कालीन विद्यालयमा लेखापाल (एकाउन्टेन्ट) का रूपमा काम गर्दै कक्षा १२ सम्मको अध्ययन पूरा गरे। त्यसबेला उनी ब्रिटिस तथा सिंगापुरे लाहुरे बन्ने तयारीमा थिए। तर काठमाडौंमा अध्ययनरत उनका दाइले विदेश गएर राम्रो आम्दानी गर्न सकिने भए पनि स्वदेशमै बसेर सम्मानित पदमा पुग्ने, राष्ट्रसेवा गर्ने र राज्यको जिम्मेवार तहमा भूमिका निर्वाह गर्ने अवसरलाई पनि महत्त्व दिनुपर्ने सुझाव दिए ।

विशेषगरी राज्यका निर्णायक तहमा आदिवासी समुदायको न्यून उपस्थिति रहेको अवस्थामा आफू पनि जिम्मेवार पदमा पुगेर राष्ट्रसेवा गर्नुपर्छ भन्ने सोच शिमोनमा विकास भयो। दाइको यही सुझाव र आफ्नो आत्मविश्वासले उनको जीवनको दिशा बदल्यो। उनले विदेशी सेनामा जाने योजनालाई छाडेर नेपालमै सुरक्षा सेवामा प्रवेश गर्ने लक्ष्य बनाए। कक्षा १२ को अध्ययन पूरा गरेपछि उनी तयारीका लागि काठमाडौं पुगे। तर राजधानीको जीवन सहज थिएन। बुवाआमाको उमेर ढल्किँदै गएको थियो भने उनका दाइ पनि काठमाडौंमा कोठा भाडामा लिएर अध्ययन गरिरहेका थिए। परिवारको आर्थिक अवस्था सहज नभएकाले काठमाडौंमा बसेर तयारी गर्नु आफैंमा ठूलो चुनौती थियो। विद्यालयमा लेखापालको कामबाट कमाएको रकममध्ये करिब ३० हजार रुपैयाँ लिएर उनी काठमाडौं पुगेका थिए। तर राजधानीको महँगी र दैनिक आवश्यकताको खर्चले केही दिनमै उक्त रकम सकियो।

होम ट्युसन पढाउँदै सशस्त्र प्रहरीको तयारी
आर्थिक समस्या आएपछि शिमोनले सशस्त्र प्रहरी सहायक निरीक्षक (एएसआई) पदको तयारीसँगै होम ट्युसन पढाउने निर्णय गरे। उनले करिब ५० वटा पर्चा तयार गरी भित्ता, बिजुलीका पोललगायत विभिन्न स्थानमा टाँसेर विद्यार्थी खोज्न थाले। आफ्नो शैक्षिक योग्यता कक्षा १२ भए पनि पर्चामा कक्षा १ देखि १२ सम्मका सबै विषय पढाउन सक्ने स्नातक तहको योग्यता भएको शिक्षकका रूपमा उल्लेख गरेका थिए। त्यसैको आधारमा उनले होम ट्युसन पढाउन सुरु गरे। दिनको केही समय विद्यार्थी पढाउने र बाँकी समय सशस्त्र प्रहरी सहायक निरीक्षक पदको तयारीमा लगाउने उनको दिनचर्या बन्यो। आर्थिक अभावका बीच पनि उनले लक्ष्यबाट ध्यान हटाएनन्। निरन्तर मेहनत र तयारीकै परिणामस्वरूप चारदेखि पाँच महिनाको तयारीपछि उनी १९ वर्षको उमेरमा सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा सफल भए। यो उनको जीवनको पहिलो ठूलो उपलब्धि थियो। सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बीच हासिल गरेको यो सफलताले उनलाई थप आत्मविश्वास दियो।

कोरोना महामारीले रोकिएन अध्ययनको यात्रा
शिमोनको नाम सशस्त्र प्रहरी सहायक निरीक्षकमा निस्किएलगत्तै देशमा कोरोना महामारी फैलियो र लकडाउन सुरु भयो। त्यही समयमा उनी सशस्त्र प्रहरी बलको आधारभूत तालिममा सहभागी थिए। करिब एक वर्ष लामो प्रशिक्षण र महामारीका कारण उनको नियमित शैक्षिक अध्ययन प्रभावित भयो।  कोरोना महामारीका कारण परीक्षा सञ्चालनमा अवरोध हुँदा उनले स्नातक तहको प्रथम र दोस्रो वर्षको परीक्षा दिन पाएनन्। त्यस समयमा परीक्षा फाराम भर्ने काम मात्र भएको थियो। तर सेवामा प्रवेश गरेपछि अध्ययनलाई निरन्तरता दिने उनको संकल्प कमजोर भएन। परिस्थितिअनुसार अध्ययन अघि बढाउँदै उनले स्नातक तह पूरा गरे।
सहायक निरीक्षक पदमा प्रवेश गर्नु उनका लागि उपलब्धि भए पनि त्यसलाई अन्तिम गन्तव्यका रूपमा लिएनन्। उनी सुरुदेखि नै निरीक्षकका रूपमा लामो सेवा यात्रा अघि बढाउन चाहन्थे। सशस्त्र प्रहरी बल नेपालमा दीर्घकालीन सेवा गर्दै भविष्यमा संगठनको नेतृत्व तहसम्म पुगेर राष्ट्रसेवा गर्ने उनको लक्ष्य थियो।

गृहजिल्ला फर्किएर निरीक्षकको तयारी
सहायक निरीक्षकका रूपमा सेवा गरिरहँदा उनले आफ्नो दीर्घकालीन लक्ष्यलाई ध्यानमा राखेर निरीक्षक पदको तयारी अघि बढाए। तयारीका लागि अनुकूल वातावरण बनाउन उनी गृहजिल्ला धनकुटा फर्किए। त्यहाँ स्नातक तहको अध्ययन पूरा गर्दै लोकसेवा आयोगमार्फत हुने निरीक्षक पदको प्रतिस्पर्धाका लागि तयारी गर्न थाले। उनका दाइ विजय राई पनि लोकसेवा आयोगको अधिकृत पदको तयारीमा थिए। दुवै दाजुभाइको अध्ययनशील वातावरणले शिमोनलाई निरन्तर मेहनत गर्न प्रेरित गर्‍यो। परिवारको साथ र दाइको मार्गदर्शनले उनलाई आफ्नो लक्ष्यमा केन्द्रित रहन सहयोग पुर्‍यायो। २०८२ सालमा स्नातक तह पूरा गरेपछि उनले निरीक्षक पदका लागि आवेदन दिने तयारी गरे। तर आवश्यक सेवा अवधि पूरा नभएको र तत्कालै सेवाबाट अलग भएर नयाँ प्रक्रियामा सहभागी हुन सक्ने अवस्था नरहेकाले उनले अघिल्लो वर्षको परीक्षामा सहभागी नहुने निर्णय गरे। उनको उद्देश्य तत्काल पद परिवर्तन गर्नु मात्र थिएन। सहायक निरीक्षकको सेवा अवधि पूरा गरी निरीक्षकका रूपमा लामो र व्यवस्थित सेवा यात्रा अघि बढाउनु थियो। त्यसैले उनले उपयुक्त समयको प्रतीक्षा गर्दै तयारीलाई निरन्तरता दिए। यसपटक भने उनी पूर्ण तयारीका साथ सशस्त्र प्रहरी निरीक्षक पदको प्रतिस्पर्धामा सहभागी भए। लिखित, मौखिकलगायत छनोट प्रक्रियाका सबै चरण पार गर्दै उनी अन्तिम सिफारिसमा पर्न सफल भए।

परिवारका लागि गौरवको क्षण
एक समय काठमाडौंको महँगीका कारण केही दिनमै ३० हजार रुपैयाँ सकिएपछि होम ट्युसन पढाउँदै सहायक निरीक्षकको तयारी गरेका शिमोन आज सशस्त्र प्रहरी निरीक्षक तथा गजेटेड अधिकृत बन्न सफल भएका छन्। यो उपलब्धि एउटा पद प्राप्तिको कथा मात्र होइन। आर्थिक अभाव, सीमित अवसर, पारिवारिक जिम्मेवारी र अध्ययनसँगै रोजगारीको चुनौती पार गर्दै निरन्तर मेहनतबाट प्राप्त गरेको सफलताको उदाहरण पनि हो। आफ्नो परिवारमा पहिलो गजेटेड अधिकृतका रूपमा स्थापित हुन पाउनु शिमोनका लागि व्यक्तिगत सफलतासँगै पारिवारिक गौरवको विषय बनेको छ। यस उपलब्धिमा उनको आफ्नै मेहनत र लगनशीलतासँगै बुवाआमाको त्याग, दाइको मार्गदर्शन र परिवारको साथ जोडिएको छ।

अब राष्ट्रसेवाको नयाँ अध्याय
१९ वर्षको उमेरमा सशस्त्र प्रहरी सहायक निरीक्षकका रूपमा सेवा सुरु गरेका शिमोनको यात्रा अब निरीक्षकको जिम्मेवारीसम्म आइपुगेको छ। उनी अब आफ्नो ज्ञान, क्षमता र अनुभवलाई संगठनको हित तथा राष्ट्रसेवामा समर्पित गर्ने नयाँ चरणमा प्रवेश गर्दैछन्।
सशस्त्र प्रहरी बल नेपाललाई अझ सुदृढ, व्यावसायिक र सक्षम संगठनका रूपमा अघि बढाउन योगदान गर्ने उनको अठोट छ। व्यक्तिगत करियर निर्माणसँगै संगठनको नेतृत्व तहसम्म पुगेर राष्ट्रसेवा गर्ने लक्ष्यले पनि उनको आगामी यात्रालाई निर्देशित गर्नेछ।
शिमोनको जीवनयात्राले सफलता प्राप्त गर्न ठूलो आर्थिक स्रोत वा सहज परिस्थिति मात्र आवश्यक पर्दैन भन्ने सन्देश दिन्छ। स्पष्ट लक्ष्य, निरन्तर मेहनत, कठिन परिस्थितिसँग जुध्ने साहस र समयअनुसार सही निर्णय लिन सक्ने क्षमताले पनि मानिसलाई आफ्नो गन्तव्यसम्म पुर्‍याउन सक्छ। संघर्षबाट सुरु भएको शिमोन राईको यात्रा अहिले नयाँ जिम्मेवारी र नेतृत्वको चरणमा प्रवेश गरेको छ। अबको उनको यात्रा अझ ठूलो उत्तरदायित्व र समर्पित राष्ट्रसेवाको यात्रा हुनेछ।

images
images

प्रतिक्रिया दिनुहोस्

images