हरिबहादुर लम्जेल
धनकुटा । शहरको चहलपहल र आधुनिकताको कोलाहलबाट केही पर, धनकुटाको पहाडी भेगमा एउटा यस्तो गाउँ छ, जहाँ रैथाने स्वाद, संस्कार र सामुदायिक भावनासँगै बगिरहेको छ । यही गाउँमा आठपहरिया समुदायले सञ्चालनमा ल्याएको ‘स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे’ संस्कृति, स्वाद र पहिचानको संगम स्थल वनेको छ । आठपहरिया समुदायको आफ्नै पहिचान, संस्कार र जीवनशैलीलाई संरक्षण गर्ने उद्देश्यले सुरु गरिएकोे यो होमस्टे यहाँका समुदायको साझा सपना हो । स्थानीय तह, सामाजिक संघसंस्था सहित सरोकारवाला व्यक्ति र स्थानीय अगुवासँगको छलफलपछि सुरु गरिएको यो सामुदायिक प्रयासमा अहिले पाँच घरधुरी सक्रिय छन् । ‘स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे’ लाई यहाँ सम्म ल्याउन धनकुटा नगरपालिका, ३ नं. वडा कार्यालय, ICIMOD, हुसाडेक नेपाल, सामुदायिक होमस्टे नेटवर्क काठमाडौं र स्मार्ट पानीले प्रयास गरेका छन् ।
रैथाने जीवनशैलीको नजिकबाट अनुभव
‘स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे’ मा आउने आगन्तुकहरुले होटलको मेनु होइन, गाउँको भान्साको स्वाद पाउँछन् । स्थानीय चामलको भात, दाल, तरकारी, वाचिप्पा, धुले अचार, सेलरोटी र विशेषगरी आठपहरिया समुदायको पहिचान मानिने ‘तोङ्बा’ र ‘मुलाको अचार’ यहाँको मुख्य आकर्षण हो । ‘वाडाङमेट’ जस्ता परम्परागत चाडपर्वसँग जोडिएका खानाका परिकारले यहाँ आउने आगन्तुकहरुलाई समुदायको संस्कृतिसँग जोडिदिएको छ । खानासँगै यहाँको जीवनशैली पनि पर्यटकका लागि अनुभवको विषय वनेको छ । ‘दुना–टपरी’ बनाउने सीप, ‘गुन्द्री’ बुन्ने कला, स्थानीय सामग्रीबाट बनाइने घरायसी वस्तुहरू र समुदायको दैनिकी प्रत्यक्ष हेर्न पाउँदा पाहुनाले आफू गाउँकै सदस्य बनेको अनुभूति गर्न सक्छन् ।
संस्कार र संस्कृतिको जगेर्ना
‘स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे’ केवल वास बस्ने ठाउँका लागि मात्र होइन, यो आठपहरिया संस्कृतिको मञ्च पनि हो । पाहुनाका लागि परम्परागत नृत्य, गीत र संस्कार झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ । यसले एकातिर समुदायको संस्कृति जोगिएको छ भने अर्काेतिर नयाँ पुस्तामा आफ्नै पहिचानप्रति गर्व बढेको छ ।

बगैँचाबाटै फलफूल, खेतबाटै अनुभव
सिजनअनुसार बगैँचामा पाकेका फलफूल टिपेर खाने अवसर यहाँको अर्को विशेषता पनि हो । पाहुनाले सुन्तला, एभोकाडो जस्ता फलफूल वगैचामा टिपेर खान पाउँछन् । सहुलियत दरमा कोसेलीको रुपमा लैजान पनि पाउँछन् । आगन्तुकले फलफुलको स्वाद मात्रै होइन, गाउँले जीवनको सरलता र आत्मीयता पनि सँगै चाख्छन् । यही आत्मीयताले ‘स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे’ लाई अरू गन्तव्य भन्दा फरक बनाएको छ ।
विदेशी पाहुनाको पाइला
होमस्टेमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको पनि आगमन बढ्दो छ । वेलायत, नेदरल्याण्ड, अष्ट्रेलिया, भारत, क्यानाडा, मलेसिया, सिंगापुर, श्रीलंका लगायत ११ वटा देशबाट ११० जना पाहुना आइसकेका छन् । जसमा केहि नेपाली पाहुना पनि छन् । पछिल्लो २०२५ को अगष्ट सम्म नेपाली र विदेशी गरि ५२ जना पर्यटक आइसकेको ‘स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे’ का अध्यक्ष हिराबहादुर राईले बताए । यहाँ आउने पाहुनाको विवरण होमस्टेमा रहेको आगन्तुक पुस्तिकामा राख्ने गरिएको छ । सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमार्फत सम्पर्क गरी पाहुना आउने क्रम बढ्दो छ । वेभसाइटमा राखिएको विवरण हेरेर फोन सम्पर्क गरि आउने पनि वढेका छन् । स्थानीय संचारमाध्यम, सामाजिक संजाल र चिनजानमार्फत पनि होमस्टेको चर्चा फैलिँदै गएको छ ।
पहुँच र बाटो
कोशी राजमार्गको धनकुटा–हिले सडक खण्डको धनकुटा बजारबाट हिलेतर्फ ३ किलोमिटर पार गरेपछि लोकसेवा पुगिन्छ । लोकसेवामा होमस्टेसम्म पुग्ने रुटको वोर्ड राखिएको छ । लोकसेवा भन्दा केही माथि स्याउले मोड पुगिन्छ । स्याउले मोडवाट दायाँ तर्फको ग्राभेल सडकबाट करिब दुई किलोमिटर भित्र प्रवेश गरेपछि होमस्टे पुगिन्छ । होमस्टे सम्म आइपुग्ने सडकको विभिन्न स्थानहरु जस्तै, गोलाई, दोवाटो जस्ता स्थानमा सूचना वोर्ड राखिएका छन् । ती वोर्ड इसिमोड, धनकुटा नगरपालिका, ३ नं. वडा कार्यालय र हुसाडेकको समन्वयमा राखिएको हो । सूचना बोर्डले आगन्तुकको यात्रालाई झनै सहज बनाएको छ ।

सामुदायिक सशक्तिकरणको उदाहरण
स्याउले सिप्तिङ सामुदायिक आठपहरिया होमस्टेले आठपहरिया समुदायलाई आर्थिक आम्दानीको बाटो मात्रै दिएको छैन, यसले पहिचान, आत्मसम्मान र भविष्यप्रतिको विश्वास पनि दिएको छ । संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाएको यो होमस्टे ग्रामीण पर्यटनको उदाहरणीय मोडेल बन्दै गएको धनकुटा नगरपालिकाका सूचना अधिकारी समेत रहेका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए । नगरपालिकाले होमस्टेको पूर्वाधार निर्माणमा सहयोग गरेको उनले बताए ।
एक रातमा २३ जना पाहुना राख्न सक्ने क्षमता
स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टेमा हाल पाँच घरपरिवार आबद्ध छन् । होमस्टेमा अन्य घरपरिवारहरू पनि क्रमशः आबद्ध हुने प्रक्रियामा छन् । यो होमस्टे धनकुटा नगरपालिका क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भई दर्ता भएको पहिलो सामुदायिक होमस्टे समेत हो । विशेषगरी यस होमस्टेमा आबद्ध सबै घरपरिवार आठपहरिया समुदायका हुन् । हाल ५ वटा घरमा पाहुना राख्नका लागि १३ वटा बेडको व्यवस्था गरिएको छ । सुरुवातमा प्रत्येक घरले एक–एक कोठा छुट्याएका थिए भने पछिल्लो समय केही घरले दुईवटासम्म कोठा पाहुनाका लागि छुट्याएका छन् । हाल यो होमस्टेमा एक रातमा करिब २३ जना पाहुना बस्न सक्ने क्षमता रहेको छ ।
होम स्टे संचालनको चुनौती
होम स्टे संचालन गर्न त्यति सहज छैन । अहिले बाटोको अवस्था र सांस्कृतिक कार्यक्रमका लागि उपयुक्त हलको अभाव चुनौती बनेको होमस्टे संचालकहरुको भनाई छ । मौसमअनुसार खुला ठाउँमा कार्यक्रम गर्न कठिन हुँदा कम्तीमा ३०÷३५ जना अट्ने क्षमताको एउटा बहुउद्देश्यीय हलको आवश्यकता स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे संचालक सदस्यहरुले महसुस गरेका छन् । ‘बहुउद्देश्यीय हल बनाउन संघ–संस्थाले साथ दिइरहनु भयो भने हामी अझ राम्रो गर्न सक्छौँ,’ सिप्तिङ सामुदायिक आठपहरिया होमस्टेका अध्यक्ष हिरावहादुर राईले बताए ।
संस्थागत प्रयास
स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टेलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समुदायस्तरमा ICIMOD, धनकुटा नगरपालिका, ३ नं वडा कार्यालय तथा हुसाडेक नेपाल, सामुदायिक होमस्टे नेटवर्क काठमाडौं, स्मार्ट पानीको सहकार्यमा विभिन्न प्रयासहरू गरिएका थिए । जसको परिमाण स्वरुप सकात्रात्मक प्रभाव देखिन थालेको हुसाडेक नेपालका अध्यक्ष सरोजकुमार भुजेलले बताए । उनका अनुसार होमस्टे सञ्चालनलाई दिगो व्यवसायका रूपमा विकास गर्न दिगो व्यवसाय परामर्श प्रदान गर्नुका साथै ५ वर्षे व्यवसायिक कार्ययोजना तयार गरिएको थियो । यस कार्ययोजनाले होमस्टे सञ्चालन, व्यवस्थापन तथा विस्तारका स्पष्ट दिशा तय गरेको छ । त्यसैगरी डिजिटल मार्केटिङअन्तर्गत वेभसाइटमा आवश्यक स्किम समावेश गर्ने, लक्षित ग्राहक पहिचान गर्ने तथा सेवा प्रवद्र्धनका गतिविधिहरू अघि बढाइएको छ । होमस्टेमा आएका पर्यटकहरूलाई स्थानीय गन्तव्य अवलोकन गराउन टुर गाइडको व्यवस्था गरिएको हुसाडेकका कार्यक्रम संयोजक दिवस दाहालले बताए ।
होमस्टे व्यवस्थापन तथा सञ्चालन तालिम (२०२३) मार्फत स्थानीयलाई सेवा गुणस्तर, व्यवस्थापन सीप र आतिथ्य सत्कारसम्बन्धी क्षमता अभिवृद्धि गरिएको छ । साथै दिगो उद्यम तीव्रीकरण कार्यक्रम अन्तर्गत व्यवसायिक समस्या समाधान प्रक्रियासम्बन्धी तालिम प्रदान गर्दै होमस्टे सेवा सञ्चालनमा देखिएका समस्या र तिनका समाधानका उपायहरूबारे व्यवहारिक ज्ञान दिइएको छ । यसका लागि डेढ वर्षे कार्ययोजना समेत तयार गरिएको दाहालको भनाई छ ।
यसका अतिरिक्त खानेपानी मुहान संरक्षणका लागि पुराना आहाल संरक्षण एव्म पुर्नभरण पोखरी निर्माण, लैङ्गिक उत्तरदायी बजेट निर्माण, स्वास्थ्य तथा सरसफाइ सम्बन्धी तालिम अष्ट्रेलियन सरकारको सहयोगमा HI-GRID परियोजना अन्तर्गत ICIMOD, हुसाडेक नेपाल र धनकुटा नगरपालिका, सामुदायिक होमस्टे नेटर्वक, स्मार्ट पानीको सहकार्यमा सञ्चालन गरिएको थियो ।
समुदायको एकता, संस्कृति र आतिथ्य सत्कारलाई आधार बनाएर अघि बढेको यो होमस्टे धनकुटाको ग्रामीण पर्यटन प्रवद्र्धनमा उदाहरणीय बन्ने विश्वास गरिएको छ ।





हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्