धनकुटा । नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा साँगुरीगढी गाउँपालिकाले वडा नं २ वुढिमोरङ र वडा नं ९ आहालेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । गाउँपालिकाले नि:शुल्क स्वास्थ्य शिविर जेठ १३ गते बुढिमोरङ र जेठ १४ गते आहाले स्वास्थ्य चौकीमा संचालन गरेको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा बुढिमोरङमा ७२० र आहालेमा ६१६ गरी कुल १३३६ जना विरामीले स्वास्थ्य जाँच गराएका छन् ।
नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल र डिजिटल मार्केटिङ शाखाका सुमन राजवंशीका अनुसार शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क सेवा प्रदान गरिएको थियो । शिविरमा बालरोग, स्त्री तथा प्रसूति रोग, जेनेरल मेडिसिन, हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, दन्तरोग, नाक(कान(घाँटी, मानसिक रोग, शल्यक्रिया परामर्श, रेडियोलोजी, प्रयोगशाला परीक्षण रगत र पिसाब, मुटुको इसीजी परीक्षण र आँखाको जाँचसमेत गरिएको थियो।
स्थानीय बासिन्दाहरूले दुर्गम तथा ग्रामीण क्षेत्रमा यस्तो सेवा उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्था तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन् । शिविरलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्