धनकुटा । धनकुटा नगरपालिकाले निबुवा–तांखुवा जलाधार क्षेत्रमा सञ्चालन गरेको जलाधार क्षेत्र संरक्षणका लागि सहभागितामूलक जलाधार सुशासन अभ्यासका लागि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था ओआईडीपी (International Observatory on Participatory Democracy) ले प्रदान गर्ने २०औँ ओआईडीपी अवार्ड– नागरिक सहभागितामा सर्वोत्कृष्ट अभ्यास अन्तर्गत धनकुटालाई पारिस्थितिकीय रूपान्तरण र वातावरण विधामा बिशेष सम्मान प्रदान गरिएको हो । पोल्याण्डको क्राकोभ सहर स्थित ICE Krakow Congress Centre मा मंगलबार आयोजित अवार्ड समारोहमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगरपालिकाको तर्फबाट सम्मान ग्रहण गरेका थिए ।
निबुवा–तांखुवा जलाधार व्यवस्थापनको अभ्यासमा स्थानीय समुदायको ज्ञान, अनुभव र सहभागितालाई वैज्ञानिक तथा प्राविधिक ज्ञानसँग जोडेर जलस्रोत संरक्षण, भूमि व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा स्थानीय संस्थागत सहकार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको छ । उक्त योजना आ.ब. २०७७/०७८ देखि धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा इसिमोडको सहयोग तथा हुसाडेक नेपाल सहितको विभिन्न साझेदार निकायहरुको समन्वयमा सञ्चालनमा रहेको धनकुटा नगरपालिकाका आर्थिक बिकास अधिकृत बिकास अधिकारीले बताए ।
ओआईडीपी अवार्डका लागि प्रस्ताव आवह्नान गरिए अनुसार विश्वका ४१ देशका स्थानीय तथा क्षेत्रीय सरकारका १७६ वटा प्रस्ताव दर्ता भएका थिए। तीमध्ये ४० अभ्यास अन्तिम चरणका लागि छनोट भई धनकुटा नगरपालिकाको अभ्यासलाई वातावरण तथा पर्यावरणीय संक्रमणसम्बन्धी विधामा उत्कृष्ट अभ्यासका रुपमा सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै प्रमुख तामाङले यो सम्मान धनकुटा नगरपालिकाको मात्र नभई निबुवा–तांखुवा क्षेत्रका समुदाय तथा जलाधार संरक्षणमा सहभागी स्थानीय नागरिक तथा सरोकारवाला निकायहरूको योगदानको सम्मान भएको बताए । उनले जलवायु तथा वातावरणीय चुनौती समाधानका लागि स्थानीय समुदायलाई योजनाको लाभग्राही मात्र नभई निर्णय, योजना निर्माण र कार्यान्वयनका सक्रिय साझेदार बनाउनुपर्नेमा जोड दिए ।
धनकुटा नगरपालिकाका लागि यो अन्तर्राष्ट्रिय मान्यता स्थानीय सहभागिता, वातावरण संरक्षण र जलवायु उत्थानशीलतामा आधारित स्थानीय शासन अभ्यासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
यस वर्षको अवार्ड समारोहमा विभिन्न महादेशका नगर तथा स्थानीय सरकारका अभ्यासहरूलाई विभिन्न विधामा सम्मान गरिएको छ। कार्यक्रमले स्थानीय लोकतन्त्र र नागरिक सहभागिताका नवीन अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमा आदानप्रदान तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजक संस्थाले जनाएको छ। अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था (OIDP – International Observatory on Participatory Democracy) स्थानीय स्तरमा लोकतन्त्र र नागरिक सहभागितालाई सुदृढ बनाउन कार्य गर्ने विश्वव्यापी संगठन हो ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्