images
images
images

धनकुटा सेवा समाज कतारको ९ औँ अधिवेशन तथा तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न

images

दोहा: धनकुटा सेवा समाज कतारको ९ औँ अधिवेशन तथा तीज विशेष चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ‘धनकुटा सेवा समाज कतारको चाहना, शुद्ध सामाजिक भावना’ भन्ने नाराका साथ सन् २००४ मा स्थापना भएको समाजले शुक्रबार आफ्नो ९औँ अधिवेशन सम्पन्न गरेको हो । कतारको प्लाजा मलमा रहेको वेल्फेयर रेष्टुरेन्टको सभाहलमा भएको अधिवेशनबाट तिलविक्रम मगर पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रम कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्य तथा धनकुटा सेवा समाज कतारका अध्यक्ष तिलविक्रम मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रमको सञ्चालन महासचिव योगेन्द्र बरालले गरेका थिए। वरिष्ठ उपाध्यक्ष रबिन मगरले स्वागत मन्तव्य राखेका थिए ।  कार्यक्रममा कतारमा रहेका विभिन्न प्रदेश तथा जिल्ला संस्थाका अध्यक्ष, प्रतिनिधि र सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सम्पूर्ण जिल्ला संस्थाको प्रतिनिधित्व गर्दै गुल्मी सेवा समाज कतारका अध्यक्ष मित्र बि.एस.ले शुभकामना मन्तव्य दिएका थिए । उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाली समुदायबीच एकता र सहकार्य अझ बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।

images
images

अधिवेशनका क्रममा धनकुटा सेवा समाज कतारले तीन जना व्यक्तित्वलाई विशेष सम्मान गरेको छ । सम्मानित हुनेमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष रबिन मगर, आदिवासी जनजाति महासंघ शाखा कतारका प्रमुख सल्लाहकार डि.एन. मगर र कोशी प्रदेश समन्वय परिषद् कतारका प्रमुख सल्लाहकार पदम कुमार घिमिरे रहेका छन् ।

त्यसैगरी, महिला च्याम्पियन भलिबल कपको सफल आयोजनामा सहयोग गर्ने तथा महिला खेलाडीलाई हौसला प्रदान गर्ने सम्पूर्ण महिला खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो । कतारमा रहेर नेपाली कला, संस्कृति र संगीतको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका कलाकारहरूलाई पनि सम्मान गरिएको थियो । अधिवेशनसँगै तीज विशेष चेलीबेटी भेटघाट कार्यक्रम पनि आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाली दिदीबहिनीबीच भेटघाट तथा शुभकामना आदानप्रदान गरिएको थियो। विभिन्न नेपाली कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै प्रवासमा रहेका नेपालीबीच आपसी सम्बन्ध बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। नयाँ नेतृत्व चयन भएसँगै धनकुटा सेवा समाज कतारले आगामी दिनमा नेपाली समुदायको हित, सामाजिक सेवा, मानवीय सहयोग र आपसी एकताका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने जनाएको छ। समाजले स्थापना भएदेखि नै कतारमा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै विभिन्न सामाजिक तथा मानवीय सेवाका काम गर्दै आएको छ।

साभारः बाबुराम महत, खबरपाइला डटकमबाट

 

images
images

प्रतिक्रिया दिनुहोस्