धनकुटा । धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा रहेको ढुङ्गामा फसेका एक युवकलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको सहयोगमा सकुशल उद्धार गरिएको छ । मोरङको ग्रामथान गाउँपालिका–१ निवासी अन्दाजी २८/२९ वर्षीय अर्जुन सरदारलाई सोमबार राति उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार असोज २६ गते साँझ ५:३० बजे तमोर नदीको किनारमा रहेको ढुङ्गामा एक व्यक्ति फसेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीको कमाण्डमा १५ जनाको प्रहरी टोली तथा सशस्त्र प्रहरी बल नेपाल, धनकुटाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयालको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो ।
रगुवा खोलामा पुल निर्माण गरिरहेको समिनारायण कन्स्ट्रक्सन प्रा.लि.मा काम गर्ने सरदारलाई राति ११:५८ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको सहयोगमा वैकल्पिक बाटोबाट पुगेर सकुशल उद्धार गरिएको हो ।
उद्धारपछि सरदारसँग सोधपुछ गर्दा दसैँको बिदामा घर जान मुलघाटतर्फ निस्कने क्रममा तमोर नदीमा पौडी खेलेर पारि तरेपछि बाटो नभेटेर अलपत्र परेको खुलेको प्रहरीले जनाएको छ । उद्धार गरिएका सरदारलाई निर्माण कम्पनीका प्रतिनिधि शिवनारायण यादवको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उद्धार कार्यमा धनकुटा नगरपालिका–८ घर भई हाल साँगुरीगढी गाउँपालिका–३ बस्ने सुमन राई र सुरेश राई तथा साँगुरीगढी गाउँपालिका–३ का आर्यन याख्खा र दिनेश याख्खाले सहयोग गरेका थिए ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्