धनकुटा । चौथो संस्करणको खुवाफोक गोल्डकपको उपाधि मोरङको कुसुमे साइनिङ फुटवल क्लवले जितेको छ । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोक खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा इहटरी फुटवल क्लवलाई पेनाल्टीसुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै कुसुमे साइनिङले उपाधि जितेको हो ।
उपाधीसँगै कुसुमे साइनिङले नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता भएको इटहरी फुटवल क्लवले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
खेलको १४ औं मिनेटमा सरोज राईले गोल गर्दै इटहरीलाई सुरुवाती अग्रता दिलाए । तर ६३ औं मिनेटमा साइनिङका सविन राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समय एक/एक गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको छ । पेनाल्टी सुटआउटमा कुसुमेको तर्फबाट विनोद राई, आमोश लिम्बु, अभिषेक श्रेष्ठ, सविन राई गोल गर्न सफल भए । इटहरीको तर्फबाट योगन राई, शौरज रावत, निवास फुयालले मात्र गोल गरे । सविन घिमिरे र रमेश राजवंशीले गोल गर्न सकेनन् ।
फाइनल खेलको म्यान अफ द म्याच साइनिङका सविन राई घोषित नगद २ हजार १ सय रुपैया सहित ट्रफी प्राप्त गरे । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी इटहरीका सौरज रावत हुँदै नगद ५ हजार रुपैया सहित ट्रफी प्राप्त गरे । त्यस्तै विधागत तर्फ कुसुमेका आमोश लिम्बू उत्कृष्ट डिफेन्डर, प्रविन लिम्बू उत्कृष्ट गोलकिपर हुँदा इटहरीका दिवेश गुरुङ उत्कृष्ट मिडफिल्डर, मौनावुधुक सिसिडिआइसीका सन्तोष लिम्बू सर्वाधिक गोलकर्ता र खुवाफोक युनाइटेडका सागर लिम्बू उदयीमान खेलाडी घोषित भए । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई समान नगद ३्/३ हजार रुपैया र ट्रफी प्रदान गरिएको थियो ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष केशर लिम्बू लगायत अतिथिहरुलाई पुरस्कार वितरण गरेका थिए । खुवाफोक युनाइटेड क्लवका अध्यक्ष सुमन लिम्बूको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन सचिव रुपमान याखाले गरेका थिए । खुवाफोक क्षेत्रको खेलकुद प्रवद्र्धन र युवा प्रतिभा उजागर गर्ने उद्देश्यले सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता गत जेठ १४ गतेदेखि संचालन भएको थियो ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्