धनकुटा । चौविसे गाउँपालिका केन्द्र राजारानीमा चौथो संस्करणको स्वर्गीय ज्ञानबहादुर तथा बुद्धिमाया लिम्बू स्मृति अन्तर्राष्ट्रिय हाम्रो राजारानी भेट्रान फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । आगामी मंसिर ५ गतेदेखि ८ गतेसम्म राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालका विभिन्न स्थानका साथै भारतको सिक्किम र बेलायतका भेट्रान टोली गरी ८ टिमको सहभागीता हुनेछ । आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार मंसिर ५ गते उद्घाटनको दिन दुई खेल संचालन हुनेछन् । पहिलो खेल आयोजक हाम्रो राजारानी भेट्रान एफसी र सतिसाले भेट्रान क्लव केरावारी मोरङ वीच हुनेछ भने दोस्रो खेल हाम्रो इटहरी भेट्रान एफसी र धरान सिटी भेट्रान एफसी वीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, मंसिर ६ गते यूके भेट्रान एफसी इङल्याण्ड र एभरेष्ट भेट्रान मोरङ वीच तथा दोस्रो खेल जेभीसी सिहताम भेट्रान एफसी सिक्किम भारत र दुधे भेट्रान एफसी झापा वीच खेल हुनेछ ।
प्रतियोगिताको सेमिफाइनलका दुई खेल मंसिर ७ गते तथा फाइनल खेल मंसिर ८ गते बिहान ९ बजे हुने टाइसिटमा उल्लेख छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ३५ हजार रुपैयाँसहित ट्रफी र उपविजेताले ७१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, सर्वाधिक गोलकर्तालाई ५ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा स्टोङ्ग रहेको छ भने चौबिसे गाउँपालिका राजारानी, धनकुटा संरक्षकका रूपमा रहेको छ। बजार व्यवस्थापन समिति राजारानी सह–प्रायोजक तथा चौबिसे गाउँपालिका सम्पूर्ण वडा कार्यालयहरू सहयोगी संस्थाका रूपमा रहेका छन्। प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था, मिडिया पार्टनर र अन्य संस्थाको समेत सहयोग रहने आयोजकले जनाएको छ।
प्रतियोगिताले राजारानी क्षेत्रमा भेट्रान फुटबलको विकाससँगै खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्