धनकुटा । भेडेटार–रवि–राँके सडक निर्माणको अवस्था बुझ्न धनकुटा, पाँचथर र इलामका स्थानीय तहका जनप्रतिनिधि, आयोजना कार्यालयका इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालाले स्थलगत अनुगमन गरेका छन् ।
आइतबार भेडेटारदेखि रवि हुँदै राँकेसम्म गरिएको अनुगमनका क्रममा जनप्रतिनिधिले सडक निर्माणलाई तीव्रता दिई तोकिएको समयभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । अनुगमनमा धनकुटाको साँगुरीगढी र चौबिसे, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द तथा इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधिसहित आयोजना कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।
स्थानीय तहका जनप्रतिनिधिले सडक निर्माणमा आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माण कम्पनीले पनि जनशक्ति र उपकरण थप गर्दै कामलाई तीव्रता दिने जनाएको छ ।

करिब १००.३६७ किलोमिटर लामो सडकले धनकुटा, पाँचथर र इलामका ग्रामीण बस्तीलाई जोड्दै कोशी र मेची राजमार्गलाई जोड्ने महत्वपूर्ण मार्गका रूपमा काम गर्ने अपेक्षा गरिएको छ । सडकको ४५.४ किलोमिटर धनकुटा, ३०.१८ किलोमिटर पाँचथर र २२.१० किलोमिटर इलाममा पर्छ भने २.६० किलोमिटर खण्ड दुई जिल्लाको सीमामा रहेको आयोजनाले जनाएको छ ।
निर्माण कम्पनीका परियोजना म्यानेजर अभय मिश्रका अनुसार आयोजनाको भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ६८.५६ प्रतिशत पुगेको छ । कोभिड–१९, इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि, वर्षायाम र पहाडी क्षेत्रमा ब्याक कटिङका क्रममा देखिएका पहिरोजस्ता समस्याले निर्माण प्रभावित भएको उनले बताए । अब जनशक्ति र उपकरण थप गरी काम अघि बढाउने योजना रहेको उनको भनाइ छ ।
भेडेटार–रवि–राँके सडक आयोजना कार्यालयका इन्जिनियर जीवस यादवका अनुसार भेडेटारदेखि डाँडाबजारतर्फको करिब पाँच किलोमिटर वन क्षेत्रको ब्याक कटिङ तथा नाम्जेदेखि ओख्रेसम्मको काम अन्तिम चरणमा पुगेको छ । धनकुटा खण्डमा काम अगाडि बढे पनि पाँचथर र इलामतर्फ अझै धेरै काम बाँकी रहेको उनले बताए । फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले आफ्नो क्षेत्रमा स्ट्रक्चर र ग्राभेलको काम भए पनि निर्माणको गति र ग्राभेलको गुणस्तर सन्तोषजनक नरहेको बताए । माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले दारेगौडादेखि हुलाकसम्म केही काम भए पनि धेरै काम बाँकी रहेको बताए । मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्माले पालिकाभित्र करिब ३५ किलोमिटर सडक रहेको र कालोपत्रेको काम अझै हुन नसकेको बताए ।
स्थानीय जनप्रतिनिधिले सडक निर्माण पूरा भएपछि तीन जिल्लाका नागरिकको आवागमन सहज हुनुका साथै पर्यटन र कृषि उत्पादनको बजार पहुँच विस्तार हुने बताएका छन् । अब निर्माणको गति, गुणस्तर र समयसीमालाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको जोड छ ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्