धनकुटा l आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा आज धनकुटामा स्थानीय प्रशासन र जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलबीच बैठक बसेको छ। बैठकमा मतदान स्थल तथा मतदान केन्द्र व्यवस्थापनसहित निर्वाचन सञ्चालनसम्बन्धी विविध विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला निर्वाचन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरज श्रेष्ठले जिल्लामा रहेका मतदाताको संख्या, मतदान स्थल तथा मतदान केन्द्रको विवरण प्रस्तुत गरे । प्रमुख जिल्ला अधिकारी गेलालले आवश्यकता अनुसार नयाँ मतदान केन्द्र थप गर्ने वा स्थानान्तरण गर्नका लागि सर्वपक्षीय सहमति बनाएर सिफारिस गर्न सकिने बताए । उनले मतदातालाई सहज हुने गरी नियमअनुसार मतदान स्थल व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेकपा एमालेका सचिवालय सदस्य नकुल राई, नेकपा माओवादी केन्द्र धनकुटाका सचिव ओमप्रकाश निरौला, रास्वपा धनकुटाका संयोजक बालानन्द दाहाल, जसपा नेपाल धनकुटाका सचिव डम्बर कटुवाल, मंगल नेशनल अर्गनाइजेशन धनकुटाका सचिव दिनेश याम्फु, राप्रपा धनकुटाका प्रतिनिधि रामप्रसाद वस्तीले निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दलहरूसँग व्यापक समन्वय र छलफल गर्नुपर्ने धारणा राखे । उनीहरुले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी महालक्ष्मी नगरपालिका नगर प्रमुख ध्रुवराज राया, धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, साँगुरीगढी गाउँपालिकाअध्यक्ष जितेन्द्र राई, चौविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई तथा छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बालगायतले मतदातालाई सुविधा हुने स्थानमा मतदान स्थल राखिनुपर्नेमा जोड दिए ।
सो बैठकमा जिल्ला समन्वय समिति धनकुटाका जिल्ला समन्वय अधिकारी हरिप्रसाद अधिकारी, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका डीएसपी प्रेम सिग्देल, राष्ट्रिय अनुसन्धानका प्रमुख रामेश्वर बस्नेत, भीमदल गण सल्लेरी ब्यारेकका मेजर मनदीप राईलगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण जिल्ला निर्वाचन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरज श्रेष्ठ तथा नायव सुब्बा सारदा प्रसाद धमलाले गरेका थिए ।
बैठकले धनकुटाका सातै स्थानीय तहका वडा स्तरमा रहेको मतदान स्थल तथा मतदान केन्द्र आवश्यक परेमा परिवर्तन वा नयाँ थप गर्न सिफारिस आगामी कात्तिक १६ गतेसम्म जिल्ला सिफारिस समितिमा पठाइसक्नुपर्ने निर्णय गरेको छ। त्यसपछि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल संयोजक रहेको जिल्ला सिफारिस समितिले बैठक बसेर निर्णय गरी चुनाव आयोगमा सिफारिस गर्ने निर्णय भएको छ। निर्वाचन भयरहित, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गराउन आवश्यक तयारी तथा व्यवस्थापन सम्बन्धमा बैठकले गम्भीर रूपमा छलफल गरेको जनाइएको छ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्