धनकुटा । रोटरी क्लब अफ पशुपति, काठमाडौँले धनकुटा नगरपालिका–१० मा अवस्थित श्री आधारभूत विद्यालय, पारिपात्लेका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ। मंगलबार आयोजित एक कार्यक्रममा क्लबले विद्यालयका विद्यार्थीलाई ७० थान ट्र्याक सुट वितरण गरेको हो। क्लबका अध्यक्ष गणेश सुवेदीको सिफारिसमा विद्यालयका विद्यार्थीलाई ट्र्याक सुट उपलब्ध गराउने निर्णय गरिएको क्लबले जनाएको छ।
विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न पाउँदा निकै खुशी लागेको बताउँदै अध्यक्ष सुवेदीले आगामी वर्षहरूमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै बालबालिकाको शैक्षिक उन्नतिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयले गत हप्ता आयोजना गरेको ५८औँ वार्षिक उत्सवकै अवसरमा न्यानो कपडा प्राप्त गरेको थियो भने मंगलबार औपचारिक रूपमा वितरण गरिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीका अनुसार विद्यालयमा बालविकासदेखि आधारभूत तहसम्मका विद्यार्थीका साथै समावेशी शिक्षाअन्तर्गत बौद्धिक अपाङ्गता भएका बालबालिकासमेत अध्ययनरत रहेका छन्।
विद्यालयका अनुसार वार्षिकोत्सवको अवसरमा सहयोगी दाता रोटरी क्लब अफ पुतली कमलाडी, काठमाडौँलाई सम्मानसमेत गरिएको थियो। न्यानो कपडा वितरण कार्यक्रममा धनकुटा नगरपालिका–१० का वडाध्यक्ष नगेन्द्र पाण्डे, वडा सदस्य सुरेश कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर कार्की तथा समितिका सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्