images
images
images

धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि १८ जनाको उम्मेदवारी

images

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारमध्ये पूर्वमन्त्रीदेखि स्वतन्त्र व्यक्तिसम्म रहेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्। उनी विघटित प्रतिनिधिसभाका सदस्यसमेत हुन् ।

images
images

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति दिनेश राईले उम्मेदवारी दर्ता गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीबाट केन्द्रीय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, जनता समाजवादी पार्टी नेपालबाट आइत राज लिम्बु (चेम्जोङ) उम्मेदवार रहेका छन् ।

अन्य उम्मेदवारमा श्रम संस्कृति पार्टीबाट सानबहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट उत्तम साखकर्मी, मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राई, जनता समाजवादी पार्टीबाट निशान राई, आम जनता पार्टीबाट प्रेमकुमार थापा, राष्ट्रिय परिवर्तन पार्टीबाट सालिकराम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बालकुमार ताम्ली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविनकुमार राई रहेका छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा मनकुमार योञ्जन, लाक्पा तामाङ, जितेन्द्र राई र गंगाराम गोम्देन मैदानमा उत्रिएका छन्।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको धनकुटामा कुल मतदाता संख्या १ लाख १८ हजार ४२५ रहेको छ। जसमध्ये महिला मतदाता ५८ हजार ९४२ र पुरुष मतदाता ५९ हजार ४८३ रहेका छन् ।

जिल्लामा कुल ११९ मतदान स्थल र १६६ मतदान केन्द्र रहेका छन्। यसबाहेक दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।

images
images

प्रतिक्रिया दिनुहोस्