images
images
images

प्रतिनिधिसभा निर्वाचन जित्न कांग्रेस धनकुटाद्वारा विभिन्न समिति गठन

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालनका लागि विभिन्न समिति गठन गरेको छ । बुधवार सम्पन्न जिल्ला कार्यसमितिका पदाधिकारी बैठकले निर्वाचन जित्ने उद्देश्यसहित संगठनात्मक संरचना मजबुत बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिका सभापति दिनेश राई प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार रहेकाले निर्वाचन कार्यक्रमहरूमा व्यस्त रहने भएपछि निर्वाचन सम्पन्न नहुन्जेल उपसभापति निर्मल प्रसाद ओझालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

images
images

बैठकले धनकुटा जिल्लामा निर्वाचन परिचालन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य अग्नि प्रसाद पौडेलको संयोजकत्वमा ४ सय ५१ सदस्यीय निर्वाचन मूल परिचालन समिति गठन गरेको छ । समितिका सदस्यमा पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य सुनिलबहादुर थापा, पूर्वसभापतिहरू मनोहरनारायण श्रेष्ठ, हरिकुमार राई, जनकसेन लिम्बु, हरि अधिकारी, साथै अञ्जना ताम्ली, अजितनारायण सिंह थापा, आनन्द सन्तोषी राई लगायत रहेका छन् ।

यसैगरी कार्यवाहक सभापति निर्मल प्रसाद ओझाको संयोजकत्वमा निर्वाचन मूल समन्वय समिति, उपसभापति सुनिल डंगोलको संयोजकत्वमा सचिवालय मूल समिति, सचिव विजय सन्तोषी राईको संयोजकत्वमा चुनाव मूल प्रचार–प्रसार समिति र सचिव जयन्द्र घिसिङको संयोजकत्वमा भ्रातृ तथा शुभेच्छुक परिचालन मूल समिति गठन गरिएको छ ।

त्यसैगरी सहसचिव रोशन श्रेष्ठको संयोजकत्वमा बुँदा एजेन्ट पहिचान तथा एजेन्डा प्रशिक्षण समिति, सहसचिव गिरिजाप्रसाद दाहालको संयोजकत्वमा जननिर्वाचित जनप्रतिनिधि परिचालन मूल समिति, सहसचिव श्रीराम रायमाझीको संयोजकत्वमा घोषणापत्र तयारी मूल समन्वय समिति र कोषाध्यक्ष सरस्वती मगरको संयोजकत्वमा मूल आर्थिक समिति गठन गर्ने निर्णय गरिएको छ । यसैबीच, निर्वाचन रणनीति निर्माणका लागि माघ ९ गते धनकुटामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाको बृहत बैठक आयोजना गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्