धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले धनकुटा सदरमुकाममा पैदल हिँड्दै मतदाता तथा समर्थकसँग भेटघाट गर्ने कार्यक्रम तय गरे पनि अन्तिम समयमा स्थगित गर्दै गाडीबाटै फर्किएका छन् । दिउँसो २ बजे धनकुटा बजार परिक्रमा गर्ने कार्यक्रम तय भए पनि विराटनगरमा आयोजना हुने आमसभामा सहभागी हुनुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाका अध्यक्ष वालनन्द दाहालले जानकारी दिए। उनका अनुसार आजको कार्यक्रम स्थगित भए पनि निर्वाचनअघि कुनै एक दिन बालेनको प्रमुख आतिथ्यतामा आमसभा आयोजना गरिनेछ। “बालेन फेरि आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,” दाहालले भने।
भीमनारायण चोकमा बालेन गाडीबाट नओर्ली गाडीको झ्यालबाटै केही समय कार्यकर्ता तथा समर्थकसँग हात मिलाउँदै अभिवादन गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले बालेनको आगमनलाई लिएर केही दिनअघिदेखि व्यापक प्रचार गरेको भए पनि उनी सदरमुकाममा गाडीबाट नओर्लीकनै फर्किएका थिए । बालेनलाई एक झलक हेर्न बजारभर उल्लेख्य भीड लागेको थियो । तर उनी गाडीबाटै बजार परिक्रमा गर्दै फर्किएपछि धेरै कार्यकर्ता तथा समर्थक निराश बनेका थिए ।
धनकुटा सदरमुकाम आउनुअघि बालेनले हिले बजारमा केही समय पैदल हिँड्दै समर्थक तथा मतदातासँग भेटघाट गरेका थिए । हिलेमा रहेको कान्जिरोवा होटलमा बालेनसहितको टोलीले खाना खाने कार्यक्रम तय गरिएको भए पनि त्यहाँ खाना नखाई उनी धनकुटा सदरमुकामतर्फ प्रस्थान गरेका थिए । सो होटलमा पार्टीका जिल्ला तहका पदाधिकारी तथा केही कार्यकर्तासँग उनले केही समय गफगाफ गरेका थिए। बालेन हिजो तेह्रथुम सदरमुकाम म्याग्लुङमा वास बसेका थिए। आज बिहान संखुवासभाको धर्मदेवी नगरपालिका–मुढेशनिश्चरे बजार हुँदै उनी धनकुटा प्रवेश गरेका हुन्।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्