धनकुटा l धनकुटा नगरपालिका–१ हिले त्रिशुलेस्थित कोशी लोकमार्ग सडक खण्डमा आज बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । शुक्रवार विहान करिब ११ः४५ बजे तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको मनिषा ट्राभल्सको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । बसमा करिब १५ जना सवार रहेका थिए ।
दुर्घटनामा घाइते भएका ६ जनाको तत्कालै धनकुटा नगरपालिका–१ हिलेस्थित उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेहरूमा तेह्रथुम लालीगुँरास नगरपालिका–२ बस्ने ५३ वर्षीय रेवन्त कुमार कामी (निधारमा चोट), छथर गाउँपालिका–४ बस्ने २३ वर्षीय रबिन लिम्बु (दाहिने खुट्टाको कुर्कुच्चामा चोट), २२ वर्षीय राज लिम्बु (दाहिने कुममा चोट), धनकुटा छथरजोरपाटी गाउँपालिका–५ बस्ने २८ वर्षीया मुना रुचाल (दाहिने हातमा चोट), उनकी ५ वर्षीया छोरी निक्खी रुचाल (दाहिने हात सुन्निएको) र सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने ४७ वर्षीया चन्द्रकला लिम्बु (देब्रे हातमा चोट) रहेका छन्। सबै घाइतेको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
दुर्घटना बारे जानकारी पाउनासाथ प्रहरी चौकी हिलेबाट प्रहरी नायब निरीक्षक चिरञ्जीवी खड्काको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको थियो। हाल सडकमा यातायात अवरोध नरहेको र दुर्घटनाग्रस्त बस हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
बस चालक सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय विष्णु थापा प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ। दुर्घटनास्थल प्रहरी चौकी हिलेबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको छ ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्