धनकुटा । धनकुटा नगरपालिका–६ नम्बर वडा कार्यालयले सल्भ–नेपाल धनकुटालाई सम्मान गरेको छ । विहीबार आयोजित एक कार्यक्रममा धर्मदेवी–शिलढुंगा पैदल मार्गको संरचना निर्माणमा सहयोग पुर्याएको योगदानको कदर गर्दै वडा कार्यालयले सल्भ–नेपाल धनकुटालाई सम्मान गरेको हो ।
वडा कार्यालय–६ का वडाध्यक्ष मिलनकुमार खड्गी र वडा सचिव कुमार खड्काले सल्भ–नेपाल धनकुटाका अध्यक्ष राजेन्द्रकुमार प्रधानलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । सल्भ–नेपालले पदमार्गका विभिन्न स्थानमा फलामे रेलिङ तथा पैदल बाटो निर्माणका लागि करिब ४ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको थियो ।
कोशी राजमार्ग नजिकै वाघेखोलास्थित धर्मदेवी मन्दिरदेखि कागतेमा रहेको शिलढुंगासम्म पदमार्ग निर्माण गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै हाइकिङ प्रवर्द्धन र धर्मदेवी मन्दिरको पर्यटन विकासका लागि पदमार्ग निर्माण गरिएको वडाध्यक्ष खड्गीले जानकारी दिए । उनका अनुसार पदमार्गको कुल दूरी ३.६ किलोमिटर रहेको छ भने उक्त दूरी पैदल पार गर्न करिब १ घण्टा १० मिनेट लाग्नेछ । धनकुटा बजार नजिकै रहेको यस हाइकिङ रुटले बजारको रमणीय दृश्यसँगै ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने बताइएको छ ।
कार्यक्रममा बोल्दै सल्भ–नेपाल धनकुटाका अध्यक्ष राजेन्द्रकुमार प्रधानले पर्यटकीय सम्भावना देखेर सहयोग गरिएको बताए । साथै पदमार्गको थप भौतिक संरचना निर्माणका लागि भविष्यमा पनि सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठले पदमार्गले धेरै सम्भावना बोकेको उल्लेख गर्दै होमस्टे प्रवर्द्धनमा समेत जोड दिनुपर्ने बताए । कार्यक्रममा वडा सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कुमार खड्काले गरेका थिए ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्