images
images
images

धनकुटामा मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान, चार मुख्य काम आजै सम्पन्न गरिने

images

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मीको टोली आजदेखि मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार अधिकांश कर्मचारी टोली मतदान केन्द्रमा पुगिसकेको र बाँकी टोली पनि आजै पुग्नेछन् ।

उनका अनुसार मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले आजै चार महत्वपूर्ण काम सम्पन्न गर्नेछन् । जसअन्तर्गत केन्द्रको चार किल्ला तोक्ने, निर्वाचन प्रचार–प्रसार निषेध क्षेत्र निर्धारण गर्ने, मादक पदार्थ निषेध गर्ने र हातहतियार निषेध गर्ने कार्य गरिनेछ ।

images
images

मतदाता संख्याका आधारमा कर्मचारी खटाइएको छ । सामान्यतया एक मतदान केन्द्रमा ६ जना कर्मचारी रहने व्यवस्था छ । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् । तर ३०० भन्दा कम मतदाता भएका केन्द्रमा एक जना सहायक कर्मचारी कम खटाइनेछ ।

धनकुटामा १६६ वटा स्थायी मतदान केन्द्र रहेका छन् । प्रत्येक केन्द्रमा ६ जनाका दरले कुल ९९६ जना कर्मचारी खटिने भए पनि ३०० भन्दा कम मतदाता भएका केही केन्द्रमा एक जना सहायक कर्मचारी घटाइँदा स्थायी केन्द्रमा खटिने कर्मचारी संख्या ९९३ पुगेको सूचना अधिकारी श्रेष्ठले बताए ।

धनकुटामा दुई वटा अस्थायी मतदान केन्द्र पनि रहेका छन् । तीमध्ये एक जिल्ला कारागारमा र अर्को धनकुटा नगरपालिका–६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालय हो । एउटा अस्थायी मतदान केन्द्रमा तीन जना कर्मचारी खटिनेछन् । जसअन्तर्गत एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र एक सहयोगी कर्मचारी हुनेछन् । मतदान केन्द्रमा कर्मचारी टोलीसँगै नेपाल प्रहरी र निर्वाचन विशेष प्रहरीसमेत परिचालन हुने जनाइएको छ ।

प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दल तथा स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन्, जसमध्ये ५८ हजार ९४२ महिला र ५९ हजार ४८३ पुरुष मतदाता छन् ।

जिल्लामा ११९ मतदानस्थल र १६६ मतदान केन्द्र कायम गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्