धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धर्मराज पौडेलसहित १३ जनाले कुल सदरमतको १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जोगाउन सकेनन् ।
निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदरमतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ । धनकुटामा खसेको कुल सदरमत ५९ हजार २०८ रहेकोमा जमानत जोगाउन ५ हजार ९२१ मत आवश्यक थियो । फागुन २१ गते सम्पन्न निर्वाचनमा धनकुटामा कुल १ लाख १८ हजार ५२५ मतदातामध्ये ६४ हजार ९१ मत खसेको थियो । जसमध्ये ५९ हजार २०८ मत सदर र ४ हजार ८८३ मत बदर भएका थिए । धनकुटाको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई १८ हजार १३२ मतसहित विजयी भएका छन् । विजयी राईसहित नेपाली कांग्रेसका दिनेश राई (१४ हजार २५७), श्रम संस्कृति पार्टीका सानबहादुर राई (११ हजार ९३२) र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी (९ हजार ९४४) ले जमानत जोगाएका छन् ।
यसबाहेक अन्य १३ उम्मेदवारले जमानत जोगाउन सकेनन् । नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६६५ मत प्राप्त गरेका छन् । जमानत जफत हुने अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा (७०३), जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू (४३२), नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी (२२), मंगोल नेशनल अर्गनाइजेसनका सागर राई (८२), राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई (२२१), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली (६५), नेपाल कम्युनिष्ट पार्टी माओवादीका रविनकुमार राई (१३२), जनता समाजवादी पार्टीका निशान राई (२३८), आम जनता पार्टीका प्रेमबहादुर थापा (५५) रहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ (१ हजार १८१), जितेन्द्र राई (९१) र मनकुमार योञ्जन (५६) ले पनि आवश्यक मत ल्याउन नसक्दा जमानत जफत भएको छ ।
प्रतिनिधि सभा निर्वाचन-२०८२


हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्