images
images
images

विद्यार्थी अभावबाट माविसम्म : सरस्वती माध्यमिक विद्यालयको प्रेरणादायी यात्रा

कुनै बेला विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेको यो विद्यालय समुदायको पहलमा पुनर्जीवित भई अहिले माध्यमिक विद्यालयको रूपमा संचालन हुँदै आइरहेको छ ।

images

धनकुटा । कुनै समय विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको थियो, चौविसे गाउँपालिका वडा नं. ४ फलामेटारस्थित सरस्वती माध्यमिक विद्यालय । तर आज शिक्षक, अभिभावक र समुदायको सामुहिक प्रयासले माध्यमिक तह (मावि) सम्म स्तरउन्नोत्ति भएर संचालनमा छ ।

२०७६ सालसम्म आइपुग्दा सरस्वती माध्यमिक विद्यालयमा जम्मा १८ जना विद्यार्थी मात्रै अध्ययनरत थिए । विद्यार्थी कम भएकै कारण विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा थियो । सोही विद्यालयका पूर्वविद्यार्थी समेत रहेका हेमचन्द्र विश्वकर्मा सरुवा भएर विद्यालय आइपुगे । २०७७ सालदेखि प्रशासनिक जिम्मेवारी सम्हाल्दै प्रधानाध्यापक बनेपछि उनले विद्यालय जोगाउने अभियान सुरु गरे । विद्यालय वन्द हुन नदिने अठोट सहित अभिभावक, शिक्षक र सरोकारवाला निकाय एकजुट भए । उनीहरुले विद्यालय वन्द गर्नुको सट्टा विद्यार्थी संख्या बढाउँदै माध्यमिक विद्यालयमा रुपमा संचालन गर्ने निर्णय गर्दै भर्ना अभियान सुरु गरे । घरदैलो अभियान गरेर विद्यार्थीको संख्या बढाउँदै लगे । “शिक्षक जवाफदेही भए, पारदर्शिता र सुशासन कायम गरियो भने विद्यालय चल्दैन भन्ने हुँदैन”, प्रधानाध्यापक विश्वकर्मा भन्छन्, “हामीले पाँच वर्ष ट्रायल गरौँ भनेर योजना बनायौँ ।”

images
images

तमोर बेँसी क्षेत्रमा रहेको यो विद्यालय बन्द भएको खण्डमा यस भेगका बालबालिकालाई ठूलो समस्या पर्ने थियो । त्यस क्षेत्रभन्दा नजिक अन्य विद्यालय थिएनन् । भैसेटारस्थित विद्यालय पुग्न बालबालिकालाई झण्डै दुई घण्टा पैदल हिँड्नु पर्ने वाध्यता थियो । अधिकांश विद्यालय माथिल्लो भेग डाँडामा रहेकाले एउटा मात्र सहज पहुँच भएको विद्यालय पनि बन्द हुने चिन्ताले अभिभावकहरू थप चिन्तित बनायो ।

योजनाअनुसार कक्षा ६ सञ्चालन गरियो । अभिभावकहरूसँग निरन्तर संवाद भयो । विद्यालय अनुगमनको रुटिन बनाइयो । शिक्षकहरूले आफ्नो पद र तह नहेरी विद्यालय हाम्रो साझा दायित्व हो भन्ने भावनाका साथ जुटे । बालविकासमा कार्यरत शिक्षकहरुले माध्यमिक तहसम्म पढाउन थाले, विद्यालय कर्मचारीले समेत कक्षा १ देखि ७ सम्म अध्यापन गरे । अहिले पनि गर्दैछन् ।
विद्यालय पुनर्जागरणमा भौतिक पूर्वाधार र भौगोलिक अवस्थाले पनि ठूलो भूमिका खेलेको
छ । तमोर कोरिडोर सडक कालोपत्रेसँगै गाउँबाट बसाइँसराइ हुने क्रम रोकियो । छिमेकी क्षेत्रमा पुल बनेपछि तेह्रथुम जिल्लाबाट समेत १०–१२ जना विद्यार्थी थपिएको प्रअ विश्वकर्माले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन भण्डारी भन्छन्, ‘अब उच्च शिक्षा लिन टाढा जानु पर्दैन । यही नजिकै मावि भएपछि अभिभावकको भरोसा बढ्यो ।’ उनका अनुसार अभिभावकहरूले आपसमा खर्च जुटाई निजी स्रोतमा शिक्षक राख्दै मावि सञ्चालन सुरु गरे । सुरुमा माध्यमिक तह सञ्चालनको औपचारिक स्वीकृति थिएन । तर यसै शैक्षिक सत्र देखि विद्यालयले मावि सञ्चालनको स्वीकृति पाएको छ । यद्यपि शिक्षक दरबन्दी नभएकाले हाल शिक्षकको सेवा–सुविधा निजी तथा दाताको सहयोगबाट व्यवस्थापन हुँदै आएको विव्यस अध्यक्ष भण्डारीले बताए । तर मावि सञ्चालन सजिलो छैन । आर्थिक चुनौती ठूलो छ । त्यसलाई व्यवस्थापन गर्न स्थानीय अभिभावकहरूले आर्थिक सहयोग संकलन अभियान सुरु गरे । अहिले करिव १० लाख रुपैयाँ संकलन भएको छ । उक्त रकम अक्षयकोषको रुपमा राखिएको छ । रकमको ब्याजबाट निजी स्रोतका शिक्षक राखिएको छ । संघीय अनुदानबाट दुई जना शिक्षक उपलब्ध छन् भने प्रावि तहका शिक्षकहरूले योग्यता अनुसार मावि तहसम्म पढाइरहेका छन् ।

मावि बन्नु अघि विद्यालयको अवस्था निकै दयनीय थियो । प्रावि तहमै विद्यार्थी नपुग्ने अवस्था थियो । २८–३० जनाभन्दा माथि पु¥याउन पनि कठिन थियो । अहिले भने विद्यार्थी संख्या १२० जनाको हाराहारी पुगेको छ । ‘अहिले अवस्था एकदम राम्रो छ’ अध्यक्ष भण्डारी भन्छन्, ‘सबैको उत्साहले उच्च मावि सञ्चालन गर्ने प्रेरणा मिलिरहेको छ, तर दरबन्दी नहुँदा सम्भव नहोलाकी भन्ने चिन्ता छ ।’ यो उपलब्धिको श्रेय समुदायलाई दिनुपर्ने प्रअ विश्वकर्मा बताउँछन् । विद्यालय एकपटक बन्द भएपछि पुनः स्थापना गरेर सञ्चालन गर्नु अत्यन्तै कठिन हुने भन्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकियो भने विद्यालय जोगाउन सकिन्छ भन्ने उदाहरण सरस्वती विद्यालय बनेको छ ।
तमोर कोरिडोरको सडकले यातायात सहज भएपछि विद्यालयले स्कुल बस खरिद गर्न सके अझ धेरै विद्यार्थी आकर्षित गर्न सकिने उनको भनाइ छ ।

विद्यालयका पूर्वविद्यार्थी हाल अमेरिका वस्दै आइरहेका पदम बहादुर बस्नेतले ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।
गाउँपालिकाले भौतिक संरचना निर्माण गरिदिएको, स्वयंसेवक शिक्षक उपलब्ध गराएको छ । विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेको विद्यालय आज मावि बनेर सञ्चालनमा आउनु एउटा उदाहरण मात्र होइन, ग्रामीण शिक्षा जोगाउन सकिने सम्भावनाको सन्देश पनि रहेको चौविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ बताउँछन् । उनी भन्छन्,‘सरस्वती माध्यमिक विद्यालयको यो कथा शिक्षा सुधार शिक्षक र समुदायको हातमै हुन्छ भन्ने प्रमाण बनेको छ ।’

images
images
सफलताको कथा

प्रतिक्रिया दिनुहोस्