हरिबहादुर लम्जेल
धनकुटा । धेरैका लागि सर्प भनेको डर र त्रासको प्रतीक हो । सर्प देख्नेबित्तिकै मानिसहरू भाग्ने वा मार्ने प्रयास गर्छन् । तर धनकुटा लेगुवाका एक यूवाको सर्पसँगको भेट डर होइन, जिम्मेवारीमा पर्दछ । महालक्ष्मी नगरपालिका वडा नं ५ लेगुवा स्थित रामबजारका स्थानीय २२ वर्षीय प्रदिप श्रेष्ठ यतिबेला स्थानीयस्तरमा ‘सर्प उद्धारकर्ता’ का रूपमा परिचित छन् ।
सानैदेखि जनावरप्रति रुचि राख्ने प्रदिप कुनै औपचारिक तालिमबिना नै सर्प उद्धारमा खटिरहेका छन् । उनले यसरी सर्प उद्धार गर्न थालेको ८–९ वर्ष भयो । सर्पबारे आफैँ अध्ययन गर्दै उद्धार गर्न थालेको उनी बताउँछन् । लेगुवाको रामबजारमा उनको हार्डवेयर पसल छ । तर सर्प भेटिएको खबर आउने वित्तिकै उनी पसल छाडेरै उद्धारका लागि निस्किने गर्छन् ।
स्थानीय बासिन्दाले फोनमार्फत खबर गरेपछि उनी तुरुन्तै घटनास्थलमा पुग्ने गरेका छन् । उनले मुख्यतः घर वा बस्तीभित्र पसेका सर्पहरूको मात्रै उद्धार गर्छन् । “जंगलमा भएको सर्पलाई किन उद्धार गर्ने ? त्यो त उसको प्राकृतिक बासस्थान हो,” उनी बताउँछन् ।
अहिलेसम्म उनले करिब ३०० भन्दा बढी सर्पलाई उद्धार गरि सुरक्षित स्थानमा पुर्याएका छन् । उनले उद्धार गरेका सर्पहरूमा किङ कोब्रा, गोमन (स्पेक्टेकल्ड कोब्रा), करेट, र्याट स्नेकदेखि लिएर विभिन्न प्रजातिका अन्य सर्पहरू पर्छन् । तीमध्ये किङ कोब्रा (जसलाई नेपालीमा राजगोमन पनि भनिन्छ) अत्यन्त विषालु हुन्छ ।
उनको अनुभवमा सबैभन्दा चुनौतीपूर्ण क्षण किङ कोब्रा उद्धारकै हो । “सुरुका दिनमा स्रोत साधन केही थिएन । एकपटक किङ कोब्रा नियन्त्रणमा लिन करिब ४ घण्टा लागेको थियो,” उनले सम्झिए । त्यो अनुभवले उनलाई अझ सतर्क र अनुभवी बनाएको छ ।
उद्धार गरिएका सर्पहरूलाई उनी प्रजातिअनुसार फरक–फरक स्थानमा छोड्ने गर्छन् । विषालु नभएका सर्पहरू नजिकैको जंगलमा छोड्छन् भने । विषालु सर्पहरूलाई वन कार्यालयसँग समन्वय गरेर बस्तीबाट टाढा पर्ने घना जंगलमा लगिन्छ । अहिले किङ कोब्रालाई उद्धार गरि तराइको चारकोसे झाडीमा छोड्ने गरिएको छ ।
तर यति जोखिमपूर्ण काम गर्दा पनि उनलाई सरकारी निकायबाट अपेक्षित सहयोग भने नपाएको उनी गुनासो गर्छन् । “वन कार्यालयले सहयोग गर्ने भनेको छ, तर अहिलेसम्म व्यवहारिक रूपमा केही गरेको छैन,” उनी गुनासो गर्छन् । अधिकांश खर्च उनी आफैँले व्यहोर्दै आएका छन्, कहिलेकाहीँ स्थानीयले इन्धन खर्चका लागि सानो सहयोग गर्ने गरेका छन् ।
पछिल्लो समय पहाडी क्षेत्रमा धेरै विषालु सर्प देखिन थालेका छन् । प्रदिपका अनुसार यसको कारण जलवायु परिवर्तन, डढेलो र सामान ढुवानीका क्रममा सर्प सर्ने जस्ता हुन सक्छन् । “पहिला खासै नदेखिने सर्प अहिले देखिन थालेका छन्, जसले जोखिम पनि बढाएको छ,” उनी भन्छन्।
सर्पदंशको जोखिम बढ्दै जाँदा उपचारको व्यवस्था भने अझै पर्याप्त छैन । त्यसैले उनी स्थानीय अस्पतालहरूमा एन्टिभेनम (विषनाशक औषधि) उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउँछन् ।
हाल उनी प्रायः एक्लै सर्प उद्धारमा खटिने गर्छन् । कहिलेकाहीँ टाढा जाँदा मात्र सहयोगका लागि छिमेकीलाई साथमा लिएर जान्छन् । उनी भन्छन्, “सरकारले अरु मानिसलाई पनि तालिम दिएर यस काममा लगाउनुपर्छ । एक्लैले सबै ठाउँ धान्न गाह्रो हुन्छ।”
किङ कोब्रा जस्तो दुर्लभ र खतरनाक सर्प अहिले सम्म उनले चार वटा उद्धार गरिसकेका छन् । अहिले पनि उनि निरन्तर सक्रिय छन् । उनी भन्छन् । यो काम केवल जोखिम मात्र होइन, सेवा पनि हो ।
डर र अज्ञानताले सर्पलाई मार्ने प्रवृत्ति अझै समाजमा छ । यस्तो अवस्थामा प्रदिप श्रेष्ठ जस्ता युवाको प्रयासले सर्प संरक्षण मात्र होइन, मानव–वन्यजन्तु सहअस्तित्वको सन्देश पनि दिइरहेको छ ।






हुलाकी पाटी 

















प्रतिक्रिया दिनुहोस्