images
images
images

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघ धनकुटाको विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

images

धनकुटा । सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ ले थालेको देशव्यापी आन्दोलनअन्तर्गत धनकुटामा पनि विरोध जनाइएको छ। बिहीबार महासंघको धनकुटा शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । महासंघले धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का लाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय सङ्घीयता विरोधी, विभेदकारी तथा आपत्तिजनक भएको जनाएको छ । सरकारको उक्त नीति तत्काल फिर्ता लिन पनि माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा शाखा अध्यक्ष बिदुर खवास ले सरकारी सञ्चार माध्यमलाई मात्र विज्ञापन दिने निर्णयले निजी तथा स्वतन्त्र सञ्चार माध्यमलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रतामा असर पार्ने तथा सञ्चार क्षेत्रमा असमानता सिर्जना गर्ने बताए । उनले यस्तो विभेदकारी नीति तुरुन्त खारेज गर्न सरकारसँग आग्रह गरे।

images
images

आन्दोलनअन्तर्गत महासंघमा आबद्ध पत्रकारहरू संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले पत्रकारहरूको मागप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त ज्ञापनपत्र गृहमन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने प्रतिबद्धता व्यक्त गरे । महासंघले सरकारी विज्ञापन वितरणसम्बन्धी नीतिको विरोधमा देशभर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोही कार्यक्रमअनुसार धनकुटामा पनि विरोधका कार्यक्रम सुरु गरिएको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेलले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्