धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरण तथा विस्तारका लागि ‘जरा अभियान’ सुरु गरेको छ। अभियानको उद्घाटन केन्द्रीय सदस्य शारदा कोइराला र जिल्ला सभापति दिनेश राईले संयुक्त रुपमा फूलको बिरुवाको जरामा पानी सिंचाइ गर्दै गरेका थिए । उद्घाटन गर्दै केन्द्रीय सदस्य कोइरालाले ‘जरा अभियान’ ले पार्टीलाई थप सशक्त र सक्रिय बनाउने विश्वास व्यक्त गरिन्। त्यस्तै जिल्ला सभापति राईले अभियानमार्फत कांग्रेसलाई रूपान्तरण गर्दै नागरिकबीच पुनः स्थापित गराउने लक्ष्य लिइएको बताए।
कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राईले अभियानको महत्वबारे प्रकाश पारेका थिएभने अर्का सचिव जयन्द्र घिसिङले अभियानअन्तर्गत गरिने गतिविधिबारे प्रस्तुति दिएका थिए । स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष सरस्वती मगरले राखेकी थिइन्।
कार्यक्रममा महासमिति सदस्यहरू राई आनन्द सन्तोषी र महेन्द्र निरौला, जिल्ला सहसचिव गिरिजाप्रसाद दाहाल, क्षेत्रीय सभापति एवं साँगुरीगढ गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, महाधिवेशन प्रतिनिधि खेम पौडेल, जिल्ला सदस्यहरू प्रीति बान्तवा, मिन कार्की, पदम गुरुङ, निरुपा राई, पुरेन्द्रलाल श्रेष्ठ, उपसभापति मिलन खड्की, चौबिसे गाउँपालिकाका कार्यवाहक सभापति कमल बराल, वडा सभापतिहरू वीरबहादुर तामाङ, हरि तिम्सिना, अमराज खनाल, कृष्ण लिम्बु, वडाध्यक्ष नगेन्द्र पाण्डे, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष शम्भु प्रधान, नेपाल किसान महासंघका अध्यक्ष दिलकुमार राई तथा नेपाल दलित संघकी कोषाध्यक्ष इन्दु धर्नालगायतले जरा अभियानलाई नयाँ ढङ्गबाट प्रभावकारी रूपमा सञ्चालन गर्दै कांग्रेसलाई नागरिकसँग अझ नजिक जोड्नुपर्नेमा जोड दिएका थिए।
अभियानअन्तर्गत कांग्रेस धनकुटाले जिल्लाका सातवटै पालिका र ६० वटै वडामा प्रतिनिधि परिचालन गर्ने जनाएको छ। वडा तथा टोल तहमा क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण तथा बदलिँदो परिस्थितिमा पार्टीका नीति, कार्यक्रम र अभियानबारे नागरिकसँग व्यापक छलफल गरिने सचिव विजय सन्तोषी राईले जानकारी दिए ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्