धनकुटा : ग्रामीण महिला तथा सीमान्तकृत समुदायको जलवायु सहनशीलता अभिवृद्धि गर्ने लक्ष्यसहित “हिन्दुकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान (HI-CAS)” परियोजना अन्तर्गत धनकुटा नगरपालिका वडा नं. ८ मा कार्यक्रम सुरु गरिएको छ ।International Centre for Integrated Mountain Development ले Global Affairs Canada तथा कार्यान्वयन साझेदार Center for Environmental and Agricultural Policy Research, Extension and Development सँगको सहकार्यमा परियोजना अघि बढाएको हो ।
धनकुटा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वडा नं. ८ मा परियोजनाको कार्यान्वयन सुरु भएको जानकारी दिइयो। कार्यक्रममा ICIMOD का प्रोग्राम अफिसर तथा नेपालका परियोजना फोकल पर्सन सदिक्षा गुरागाईं, CEAPRED का कार्यक्रम निर्देशक केशवदत्त दवाडी, HI-CAS परियोजना संयोजक तुकनारायण अर्याल र GESI म्यानेजर नेहा थापालगायतले परियोजनाको उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए।
परियोजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै मुहान (स्प्रिङ) व्यवस्थापन, जल पुनर्भरण प्रणाली, कृषि जैविक विविधता संरक्षण तथा सिँचाइका लागि सौर्य ऊर्जाबाट सञ्चालित पम्पको प्रयोगजस्ता गतिविधि सञ्चालन गर्नेछ ।
वडा नं. ८ का वडाध्यक्ष रसबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन आर्थिक विकास अधिकृत विकास अधिकारीले गरेका थिए। कार्यक्रममा हुसाडेक नेपालका निवर्तमान अध्यक्ष सरोजकुमार भूजेल, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेललगायतले शुभकामना मन्तव्य दिएका थिए।
परियोजनाले महिला समूह, आदिवासी जनजाति तथा स्थानीय समुदाय सञ्जालको नेतृत्वमा सहभागितामूलक ढंगले कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत जलस्रोत व्यवस्थापन, कृषि जैविक विविधता संरक्षण र नवीकरणीय ऊर्जाको प्रयोगलाई एकीकृत गर्दै लैङ्गिक उत्तरदायी अनुकूलन समाधान कार्यान्वयन गरिनेछ। साथै, नीति निर्माण र निर्णय प्रक्रियामा सहयोग पुर्याउँदै स्थानीय तहमा दीर्घकालीन रूपमा जलवायु वित्तीय स्रोतमा पहुँच विस्तार गर्ने उद्देश्य पनि राखिएको छ।
यसअघि काठमाडौंस्थित ICIMOD मुख्यालयमा आयोजना गरिएको राष्ट्रिय सुरुवात कार्यक्रममार्फत परियोजनाको नेपाल अध्याय औपचारिक रूपमा शुभारम्भ गरिएको थियो। सो कार्यक्रमसँगै नेपाल, बंगलादेश र भुटानमा एकैसाथ सञ्चालन हुने बहुदेशीय पहललाई गति दिइएको थियो । नेपालमा परियोजना फेब्रुअरी २०२५ देखि सुरु भई जनवरी २०२६ सम्म प्रारम्भिक चरण पूरा गरी फेब्रुअरी २०२६ देखि कार्यान्वयन चरणमा प्रवेश गरिसकेको छ। हाल स्थानीय तहमा कार्यक्रम विस्तार भइरहेका छन्। आयोजकका अनुसार यस्ता कार्यक्रमले समुदायस्तरमा जलवायु अनुकूलनसम्बन्धी साझा समझ विकास गर्न सहयोग पुर्याउनेछ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्