धनकुटा । ब्लड क्यान्सरसँग संघर्षरत सुष्मा लम्जेलको उपचारका लागि अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । विगत पाँच महिनादेखि काठमाडौंस्थित सिभिल अस्पताल, नयाँ बानेश्वरमा उपचाररत लम्जेललाई अष्ट्रेलियामा रहेका Aussie Druk Volleyball Club (ADVC) का सदस्यहरूले सहयोग जुटाएका हुन् । लम्जेल नेपाल पत्रकार महासंघ धनकुटा शाखाकी पूर्वसदस्य समेत हुन् । उनी धनकुटा साप्ताहिकमा आवद्ध छिन् ।
क्लबका अध्यक्ष तथा समाजसेवी कृष पौडेलका अनुसार, सदस्यहरूबाट अष्ट्रेलियन ५०० डलर (करिब ५२ हजार ६८७ रुपैयाँ) संकलन गरी पीडितलाई पठाइएको हो । सहयोग संकलनमा क्लबका सल्लाहकारहरू शरण बानियाँ, छत्र भट्टराई र मौसम घले गुरुङको समेत सक्रियता रहेको बताइएको छ ।
लम्जेलको उपचारमा ठूलो खर्च भइसकेको र अब बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । तर आर्थिक अभावका कारण आवश्यक उपचार अघि बढ्न नसकिरहेको जानकारी पाएपछि सहयोग जुटाइएको अध्यक्ष पौडेलले बताए । उनले बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस जीवनरक्षा अभियानमा सबैलाई सक्दो सहयोग गर्न अपिलसमेत गरेका छन् ।
अष्ट्रेलियाको एडिलेडस्थित उत्तरी उपनगर (प्लेफोर्ड र सालिसबरी) क्षेत्रमा आधारित Aussie Druk Volleyball Club ले हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । युवाहरूको सक्रियतामा स्थापित यस क्लबले समावेशी, निष्पक्ष र सिकाइमैत्री खेल वातावरण निर्माण गर्दै समुदायबीच एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्य गर्दै आएको छ ।
भोजपुर होम्ताङ् निवासी हाल अष्ट्रेलियामा वसोवास गर्ने सुरेन्द्र राईले यो अभियानका लागि क्लवसँग समन्वय गरेका हुन् । उनले भने विरामीको अवस्था वारे सामाजिक संजालमा देखेपछि क्लवका अध्यक्षसँग कुरा राखे । उहाँ मार्फत नै अन्य सदस्यवाट स्वेच्छिक रुपमा संकलन गरियो । उनका अनुसार क्लव सदस्य वाहेकका अन्य दाताले पनि सहयोग गरेका छन् । केहि महिना अघि मात्रै उनी अष्ट्रेलिया पुगेका हुन् । उनी अहिले क्लवमा खेलाडी रुपमा सदस्यको रुपमा आवद्ध छन् ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्