images
images
images

अष्ट्रेलियामा चन्द्रमाया भट्टराई स्मृति कप भलिबल प्रतियोगिता : खेलसँगै भावनात्मक सम्बन्धको सेतु

images

सुरेन्द्र राई

अष्ट्रेलिया । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच खेलमार्फत सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको चन्द्रमाया भट्टराई स्मृति कप भलिबल प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ । दिवंगत चन्द्रमाया भट्टराईको स्मृतिमा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिताको यस वर्ष दोस्रो संस्करण सम्पन्न भएको हो ।

images
images

प्रतियोगिताको फाइनलमा आयोजक क्लबकै दुई टिमबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एडिभिसी क्लब ब्ल्याक विजेता बन्न सफल भयो । विजेता टिमले मेडल, ट्रफीका साथै चिठ्ठा तथा कुपन नम्बरमार्फत २५/३५ अष्ट्रेलियन डलर बराबरको पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजकसहित विभिन्न १० टिमको सहभागिता रहेको थियो । टिमहरूलाई दुई समूहमा विभाजन गरी राउण्ड–रोबिन प्रणालीका आधारमा खेल सञ्चालन गरिएको थियो । खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगिता थप रोचक बनेको थियो ।

सन् २०२० नोभेम्बर २२ मा निधन भएकी चन्द्रमाया भट्टराईको सम्झनामा सुरु गरिएको यो प्रतियोगिता समुदायलाई एकताबद्ध बनाउने माध्यमका रूपमा विकसित हुँदै गएको छ । गत वर्षबाट सुरु गरिएको प्रतियोगिताले निरन्तरता पाउँदै खेल संस्कृतिको प्रवर्द्धनसँगै भावनात्मक सम्बन्ध मजबुत बनाउँदै आएको आयोजकहरूको भनाइ छ ।

प्रतियोगिता सञ्चालनमा क्लबका अध्यक्ष तथा समाजसेवी कृष पौडेल, शरण बानियाँ, मौसम घले गुरुङलगायतले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनीहरूका अनुसार खेलले केवल प्रतिस्पर्धा मात्र होइन, समुदायबीच आपसी समझदारी र आत्मीयता बढाउने महत्वपूर्ण माध्यमको रूपमा काम गरेको छ ।

दिवंगत चन्द्रमाया भट्टराईका श्रीमान् नन्दलाल भट्टराईसहित परिवारका सदस्यहरू अष्ट्रेलिया तथा अमेरिकामा बसोबास गर्दै आएका छन् । दिवंगत चन्द्रमाया भट्टराईका श्रीमान् नन्दलाल भट्टराई, जेठा छोरा रुपलाल भट्टराई, बुहारी भद्रीमाया, माइला छोरा छत्र भट्टराई र बुहारी पवित्रा भट्टराई, कान्छा छोरा पूर्ण भट्टराई र बुहारी रोश्नी सुब्बा तथा कान्छी छोरी गंगा भट्टराई र सुरेन्द्र राई अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । त्यस्तै, जेठी छोरी धनमाया थापा र ज्वाइँ शेरबहादुर थापा, माइली छोरी देवका विष्ट र ज्वाइँ टिकाराम विष्ट, साइली छोरी दीर्घमाया बस्नेत र ज्वाइँ हेम बस्नेत, काइली छोरी मनमाया चौहान र ज्वाइँ पूर्ण चौहान अमेरिकामा बस्दै आएका छन् ।

परिवारका सदस्यहरूको सक्रिय सहभागिता र समर्थनले प्रतियोगितालाई थप अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ ।

अष्ट्रेलियाको एडिलेडस्थित उत्तरी उपनगर (प्लेफोर्ड र सालिसबरी) क्षेत्रमा आधारित Aussie Druk Volleyball Club ले प्रतियोगिता आयोजना गरेको हो । युवाहरूको सक्रियतामा स्थापित यस क्लबले समावेशी, निष्पक्ष र सिकाइमैत्री खेल वातावरण निर्माण गर्दै आएको छ । क्लबका अध्यक्ष कृष पौडेलका अनुसार, “हरेक वर्ष सञ्चालन हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै समुदायबीच भावनात्मक सम्बन्ध अझ मजबुत बनाउने काम गरेको छ ।” विदेशमा बसेर पनि आफ्नो संस्कृति, सम्बन्ध र सामाजिक भावना जोगाउँदै खेलकुदमार्फत एकताको सन्देश दिनु नै यस प्रतियोगिताको मुख्य विशेषता बनेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्