धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले लोककल्याणकारी विज्ञापन वितरणमा विभेद भएको भन्दै जिल्ला समन्वय समितिसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ । महासंघले जिल्ला समन्वय समिति धनकुटालाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय संघीय सरकारको सर्कुलरलाई आधार देखाउँदै स्थानीय तहहरूले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन दिन आनाकानी गरिरहेको उल्लेख गरेको छ ।
ज्ञापनपत्र नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवास र सचिव हरिबहादुर लम्जेलले संयुक्त रूपमा हस्ताक्षर गरी जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङलाई बुझाएका थिए । ज्ञापनपत्र ग्रहण गर्दै समन्वय प्रमुख तामाङले त्यसमा समावेश विषयवस्तुबारे स्थानीय तहसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञापनपत्रमा नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै श्रमजीवी पत्रकारहरूले नियमित पारिश्रमिक र सेवा–सुविधा नपाउने अवस्था सिर्जना भएको जनाएको छ। यस्तो परिस्थितिमा सरकारी विज्ञापन वितरणमा देखिएको विभेदले सञ्चारमाध्यमको दिगोपनमै असर पर्ने महासंघको ठहर छ।
महासंघका अनुसार सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने निर्देशात्मक परिपत्रले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि अन्याय भएको छ। यसले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा समेत असर पार्ने चेतावनी दिइएको छ ।
यसअघि पनि महासंघले सरकारको निर्णयप्रति असहमति जनाउँदै ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै समस्या समाधानमा सरकार गम्भीर नदेखिएको गुनासो गरिएको छ। धनकुटाका स्थानीय तहहरूले विगतमा स्थानीय सञ्चारमाध्यमको सबलीकरणका लागि सहयोग गर्दै आए पनि पछिल्लो समय विज्ञापन वितरणमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै समन्वय समितिमार्फत पहल गरिदिन आग्रह गरिएको छ । महासंघले स्थानीय सरकार, सञ्चारमाध्यम र सरोकारवाला निकायबीच समन्वय गरी सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने मागसमेत अघि सारेको छ। साथै, विभेदकारी नीति खारेज गरी लोककल्याणकारी विज्ञापन समान रूपमा वितरण गर्नुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा महासंघ धनकुटा शाखाका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य विजय सन्तोषी राई, निवर्तमान अध्यक्ष नगेन्द्र राई, सल्लाहकारहरू सन्तवीर लामा र विनोद घिमिरे, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहित विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।



हुलाकी पाटी 















प्रतिक्रिया दिनुहोस्