धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले सार्वजनिक सूचना जारी गर्दै जिल्लाभर प्रतिबन्धित गाँजा खेती नगर्न–नगराउन निर्देशन दिएको छ । कार्यालयका अनुसार गाँजा खेती, ओसारपसार तथा बेचबिखन पूर्ण रूपमा प्रतिबन्धित रहेको उल्लेख गर्दै लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम यस्ता गतिविधि गैरकानुनी भएकाले उल्लंघन गरेमा कडा कारबाही गरिने चेतावनी दिइएको छ।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काद्वारा हस्ताक्षरित सूचनामा जिल्लाभित्र कतै पनि गाँजा खेती नगर्न र नगराउन सर्वसाधारणलाई आग्रह गरिएको छ। साथै, यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ । प्रशासनले कानुनको पालना गरी सूचनाको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्