धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । “शान्तिपूर्ण भविष्यको निर्माण-मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले महासंघको प्राङ्गणमा दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले नेपाली पत्रकारिता अहिले जटिल मोडमा पुगेको भन्दै सञ्चार माध्यमलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् । उनीहरूले पत्रकारिताको स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भए पनि सञ्चारकर्मीहरू सचेत र दृढ भएर अघि बढ्ने बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष लिलावल्लभ घिमिरे, धनकुटा शाखाका सल्लाहकार सिद्धराज राई र संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राई लगायतले मन्तव्य व्यक्त गरे । नेपाल पत्रकार महासंघ धनकुटा शाखा का अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरिबहादुर लम्जेलले गरेका थिए । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, पूर्वकेन्द्रीय सदस्य, पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्