धनकुटा । सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आज धनकुटामा प्रदर्शन गरिएको छ । संयुक्त दलित संघर्ष समितिको आयोजनामा सदरमुकामस्थित मदन चोकमा आयोजित कोणसभामा वक्ताहरूले सिन्धुलीको खुर्कोटस्थित प्रहरी हिरासतमा भएको मृत्यु घटनालाई गम्भीर रूपमा लिन सरकारसँग आग्रह गरेका छन् ।
वक्ताहरूले हिरासतजस्तो संवेदनशील स्थानमै नागरिकको ज्यान जानु गम्भीर विषय भएको बताउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरे । दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । यसैगरी दोषी प्रहरीमाथि कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा दलित समुदायको सुरक्षाको ग्यारेन्टी गर्न पनि माग गरिएको छ । कार्यक्रममा वक्ताहरूले पछिल्लो समय प्रहरी हिरासतभित्र हुने मृत्युका घटनाले कानुनको शासनमाथि प्रश्न उठाएको उल्लेख गर्दै मानवअधिकारको सम्मान र नागरिकको जिउने अधिकारको रक्षा गर्न राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्