धनकुटा । उमेरले मानिसलाई शारीरिक रूपमा वृद्ध बनाउन सक्छ, तर सिक्ने इच्छा र आत्मविश्वास बलियो भए उमेर कहिल्यै बाधक बन्दैन भन्ने उदाहरण धनकुटाका ६६ वर्षीय करवीर राई बनेका छन् । वि.सं. २०१७ सालमा जन्मिएका राईले ६६ वर्षको उमेरमा एसईई परीक्षा उत्तीर्ण गर्दै धेरैका लागि प्रेरणादायी उदाहरण बनेका हुन् । राईको शैक्षिक यात्रा निकै लामो, संघर्षपूर्ण र धैर्यताले भरिएको छ । उनले पहिलो पटक वि.सं. २०४० सालमा साविक चुङवाङ गाविस, हाल पाख्रिवास नगरपालिका–१० स्थित भारती माध्यमिक विद्यालयबाट टेस्ट परिक्षा दिएका थिए । त्यसपछि त्यतिबेलाको एसएलसी परीक्षा दिएका थिए । त्यसबेला गणित, विज्ञान र भूगोल विषयमा असफल भएपनि अरु विषयमा राम्रो अंक ल्याएर पास गरेका थिए । त्यसपछि उनको पढाइ बीचमै रोकिएको थियो ।
तर मनभित्रको पढ्ने इच्छा भने कहिल्यै मरेन । गाउँमा निष्क्रिय बस्नुभन्दा केही नयाँ गर्ने सोचका साथ उनले पुनः अध्ययन सुरु गर्ने निर्णय गरे । राईका अनुसार उनले २०८० सालदेखि नियमित रूपमा परीक्षाको तयारी थालेका थिए । उनले धरानस्थित सगरमाथा डल्फिन कलेजबाट प्राइभेट फाराम भरेर अध्ययन अघि बढाएका हुन् । कठिन लाग्ने गणित र अंग्रेजी विषयका लागि ट्युसन पढे भने अन्य विषय स्वअध्ययनमार्फत तयारी गरे । वि.सं. २०८० सालमा उनले पाँच विषयमा सफलता प्राप्त गरेका थिए । गतवर्ष गणित र अर्थशास्त्र विषयको परिक्षा दिएपनि अर्थशास्त्र उत्तिर्ण गरेको थिए । यस वर्ष गणित विषयमा समेत उत्तीर्ण भएपछि उनले एसईई पूरा गर्न सफल भएका हुन् ।
पाख्रिवास नगरपालिका–७ घर भई हाल धनकुटा नगरपालिका–१ मा बसोबास गर्दै आएका राई सामाजिक क्षेत्रमा पनि सक्रिय व्यक्तित्व हुन् । वि.सं. २०४९ सालमा बहुदल स्थापना भएपछि उनी साविक मुगा गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको परिवारमा श्रीमती करुणा देवान, दुई छोरा, तीन छोरी तथा नाति–नातिनाहरू छन् । उनका जेठा नाति अहिले कक्षा ७ र जेठी नातिनी कक्षा ६ मा अध्ययनरत छन्। नाति–नातिनासँगै हजुरबुबाले पनि परीक्षा उत्तीर्ण गरेपछि परिवारका सदस्यहरुमा खुसीयाली छाएको उनले बताए ।
एसईई उत्तीर्ण गरेपछि अब ११ र १२ कक्षा अध्ययन गर्ने इच्छा रहेको उनले बताएका छन् । धनकुटाको वातावरण राम्रो भएकाले यहीँको कुनै कलेजमा प्लस टु अध्ययन गर्ने योजना रहेको उनको भनाइ छ । करवीर राईको सफलताले “सिक्ने कुनै उमेर हुँदैन” भन्ने भनाइलाई पुनः प्रमाणित गरेको छ । उनी अहिले धेरै युवा विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन् ।



हुलाकी पाटी 

















प्रतिक्रिया दिनुहोस्