images
images
images

पत्रकार विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार

images

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस–जुन ५’ को अवसरमा प्रदान गर्दै आएको प्रतिष्ठित वातावरण पत्रकारिता पुरस्कार–२०२५ पत्रकार विद्या राईलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल न्यूज डटकममा कार्यरत पत्रकार राईलाई वातावरण तथा दिगो विकासका विषयमा खोजमूलक पत्रकारिता गरेबापत नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । नेवापसले विगत चार दशकदेखि प्रत्येक वर्ष विश्व वातावरण दिवसका अवसरमा वातावरण पत्रकारितामा योगदान पुर्‍याउने पत्रकारलाई सम्मान गर्दै आएको छ ।

समूहका अनुसार सन् २०२५ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको विषयगत सान्दर्भिकता, निरन्तरता, भाषा–शैली र समावेशिताका आधारमा मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

images
images

पुरस्कारका लागि समूहले पत्रकारहरूबाट सन् २०२५ भरिका लेख, रचना तथा कार्यक्रम समेटिएका आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको मूल्याङ्कन समूहका पूर्वअध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा पूर्वमहासचिव संगीता लामा र विज्ञ सदस्य बटुकृष्ण उप्रेती सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले गरेको थियो। उक्त मण्डलको सिफारिसका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेवापसले जनाएको छ ।

समूहद्वारा स्थापित वातावरण पत्रकारिता पुरस्कार प्राप्त गर्ने विद्या राई ३९औँ पत्रकार हुन्। पुरस्कार आगामी साधारणसभाका अवसरमा प्रदान गरिनेछ। यसैबीच, प्राप्त ३५ आवेदनमध्येबाट उत्कृष्ट वातावरणीय रिपोर्टिङ गरेको भन्दै पाँच जना पत्रकारलाई ‘उत्कृष्ट रिपोर्टिङ–२०२५’ प्रशंसापत्र प्रदान गर्ने घोषणा गरिएको छ। प्रशंसापत्र प्राप्त गर्ने पत्रकारहरूमा महेश के.सी. (कान्तिपुर टेलिभिजन, रुकुम पूर्व), सविता बुढा (रातोपाटी, धनगढी), हरिबहादुर लम्जेल (अन्नपूर्ण पोस्ट, धनकुटा), सिर्जना बुढाथोकी (नेपाल समाचारपत्र, सुर्खेत) र घनश्याम खड्का (उकालो डटकम, म्याग्दी) रहेका छन् । नेवापसले पुरस्कृत तथा प्रशंसापत्र प्राप्त सबै पत्रकारलाई बधाई ज्ञापन गर्दै वातावरणीय पत्रकारितामा निरन्तर योगदानको अपेक्षा गरेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्